पाँचथरबाट पाँच पार्टीका पाँच सांसद्



फिदिम । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पाँचथर जिल्लाबाट विभिन्न पाँच वटा राजनीतिक दलका पाँच जना सांसद् निर्वाचित हुनुभएको छ ।

एक प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरबाट तीन जना पहिलो हुने निर्वाचित हुने प्रणाली तथा दुई जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भई प्रमाणपत्र ग्रहण गर्नुभएको हो । निर्वाचितमध्ये एक जना प्रतिनिधि सभा सदस्य तथा चार जना प्रदेश सभा सदस्य हुनुहुन्छ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीमार्फत सिङ्गो जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ विजयी हुनुभयो । पहिलो हुने निर्वाचित हुने प्रणालीमार्फत प्रदेश सभा क्षेत्र क्षेत्र नं. १ बाट नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगू र क्षेत्र नं. २ बाट नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बो निर्वाचित हुनुभएको थियो । समानुपातिक प्रणालीबाट नेपाली कांग्रेसकी मैया श्रेष्ठ लावती र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमराज थाम्सुहाङ निर्वाचित हुनु भएपछि जिल्लाबाट पाँच राजनीतिक दलका पाँच सांसद् निर्वाचित हुनुभएको छ ।

प्रतिनिधि सभामा नेम्बाङ चौथो पटक विजयी हुनुभएको हो । ०४८ र ०५६ को आम निर्वाचनमा पाँचथर क्षेत्र नं. १ बाट निर्वाचित उहाँ २०७४ को निर्वाचनमा सिङ्गो जिल्लाको एकमात्रै प्रतिनिधि सभा सदस्य चुनिनु भएको थियो । २०७६ मङ्सिरबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएका नेम्बाङले शहरी विकास, कृषि तथा पशुपंक्षी विकास, सञ्चार तथा सूचना प्रविधि र खानेपानी मन्त्रालय समेत सम्हालीसक्नु भएको छ । नेम्बाङ एमालेको केन्द्रीय सदस्य र पाँचथर जिल्लाको इन्चार्ज समेत रहनुभएको छ । ६० वर्षीय नेम्बाङ फिदिम नगरपालिका–१ का स्थायी बासिन्दा हुनुहुन्छ ।

पाँचथर प्रदेश सभा क्षेत्र नं. १ बाट निर्वाचित कमलप्रसाद जबेगू पहिलो पटक प्रदेश सभा सदस्य बन्नुभएको हो । उहाँ २०५४ को स्थानीय निर्वाचनबाट साविक एकतीन गाविसको अध्यक्ष निर्वाचित हुनुभएको थियो । ६४ वर्षीय जबेगू फालेलुङ गाउँपालिका–१ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ नेकपा (एकीकृत समाजवादी) पाँचथरको अध्यक्ष पनि हुनुहुन्छ ।

पाँचथर प्रदेश सभा क्षेत्र नं. २ बाट निर्वाचित इन्द्रबहादुर आङ्बो दोश्रो पटक सोही क्षेत्रबाट प्रदेश सभा सदस्य बन्नुभएको हो । तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रहनुभएका आङ्बो वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा समेत सोही जिम्मेवारीमा रहनुभएको छ । फिदिम नगरपालिका–११ का स्थायी बासिन्दा ४० वर्षीय आङ्बो माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत हुनुहुन्छ ।

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ कुनै पनि सांसद् जिताउन नसकेको नेपाली कांग्रेसले समानुपातिकतर्फ समेत सांसद् पाएको थिएन । तर यस पटक कांग्रेसबाट प्रदेश नं. १ को प्रदेश सभा सदस्यमा नेतृ मैया श्रेष्ठ लावती निर्वाचित हुनुभएको छ । ४४ वर्षीया श्रेष्ठ कांग्रेसबाट प्रदेश सभा सदस्यको बन्द सूचिमा आदिवासी जनजाति महिलातर्फ प्रथम स्थानमा रहनुभएको थियो । कांग्रेस पाँचथर क्षेत्र नं. २ का सभापति समेत रहनुभएकी श्रेष्ठ जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ का बासिन्दा हुनुहुन्छ ।

यस्तै राप्रपाबाट आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा बन्द सूचिमा रहनुभएका प्रेमराज थाम्सुहाङ समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो । २०४९ को स्थानीय निर्वाचनमा साविक याङनाम गाविसको उपाध्यक्ष निर्वाचित हुनुभएका ६० वर्षीय थाम्सुहाङ फिदिम नगरपालिका–१० का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

जिल्लाबाट राष्ट्रिय सभामा कोही पनि सांसद् निर्वाचित हुनुभएको छैन् । अघिल्लो निर्वाचनमा पाँचथरबाट पहिलो हुने निर्वाचित हुने प्रणालीबाट तीन र समानुपातिक प्रणालीबाट दुई गरी पाँच सांसद् नै निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्