पाचौं प्रतिस्पर्धामा नेम्बाङको चौथो जित, यस्तो छ विगतको चुनावी इतिहास



फिदिम । नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ चौथो पटक पाँचथरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभयो । प्रदेश सभातर्फ दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुँदा प्रतिनिधि सभामा भने नेपाली काँग्रेसका भीष्मराज आङ्देम्बेलाई ४६ मतको अन्तरले पराजित गर्दै नेम्बाङ निर्वाचित हुनुभएको छ । ३२ हजार १३५ मत प्राप्त गर्दै प्रतिनिधि सभाको सदस्य चुनिँदा प्रतिद्वन्द्वी आङ्देम्बेले ३२ हजार ८९ मत प्राप्त गर्नुभयो ।

प्रतिकूलतामा पनि उपलब्धि हाँसिल गरिछाड्ने नेम्बाङको दृढ अठोटमा यहाँका मतदाताले पार्टीभन्दा माथि उठेर मत दिए । किनकी प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले पाँचथरमा २६ हजार ५९२ मत मात्रै प्राप्त गरेको छ भने गठबन्धनका काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गरी कूल ३४ हजार ५९१ म्त पाएका छन् । यस हिसाबले नेम्बाङले अन्य दलको ५ हजार ५४३ मत प्राप्त गरी चौथो पटक प्रतिनिधि सभाको यात्रा तय गर्नुभएको छ ।

२०४८ को प्रथम आमनिर्वाचनपछि पाँच पटक उम्मेदवार बन्नुभएका नेम्बाङले यस पटक चौथो जित निकाल्दै प्रतिनिधि सभाको यात्रा गर्नुभएको हो । वि.सं. २०१८ साल चैत ८ गते बुवा देवीप्रसाद नेम्बाङ र आमा विष्णुमाया नेम्बाङको माइलो सुपुत्रका रुपमा पाँचथरको फिदिममा जन्मनुभएका नेम्बाङले कानूनमा स्नातक तह उत्तिर्ण गर्नुभएको छ ।

नेम्बाङ पहिलो पटक वि.सं. २०४८ सालको आमनिर्वाचनमा २९ वर्षको उमेरमा पाँचथर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । एमालेका नेम्बाङले नेपाली काँग्रेसका दीपकप्रकाश बाँस्कोटालाई २७७ मतले पराजित गर्नुभएको थियो । नेम्बाङले १३ हजार ४५७ मत प्राप्त गर्दा बाँस्कोटाले १३ हजार १८० मत प्राप्त गर्नुभयो । उक्त निर्वाचनमा राप्रपा (चन्द)का अइन्द्रविक्रम थाम्सुहाङले १० हजार १५६ मत, स्वतन्त्र उम्मेदवार मछिन्द्र योङहाङले १ हजार ३३ मत र राप्रपा (थापा)का राजकुमार जोशीले ३३७ मत प्राप्त गर्नुभएको थियो ।

सोही क्षेत्रमा नेम्बाङ मध्यावधि निर्वाचन २०५१ मा भने पराजित हुनुभयो । काँग्रेसका बाँस्कोटासँगै प्रतिस्पर्धा गर्नुभएका नेम्बाङ ९६० मतले पराजित हुँदा बाँस्कोटाले १३ हजार ९४९ मत तथा नेम्बाङले १२ हजार ९८९ मत प्राप्त गर्नुभएको थियो । सो निर्वाचनमा राप्रपाका पद्मसुन्दर लावतीले ११ हजार ४८७ मत र राजपाका लक्ष्मीप्रसाद तुम्बापोले ९२० मत पाउनुभएको थियो ।

तर ५ वर्षपछि नेम्बाङ हारको बदला लिन सफल हुनुभयो । एमाले विभाजनका बावजुत नेम्बाङले बाँस्कोटालाई २ हजार ४९८ मतको अन्तरले पराजित गर्नुभयो । नेम्बाङले १७ हजार ६८९ मत प्राप्त गर्दा बाँस्कोटाका भागमा १५ हजार १९१ मत मात्रै प्राप्त गर्नुभएको थियो ।

सो निर्वाचनमा राप्रपा (चन्द)का बमबहादुर योङ्याले ७ हजार ८८२ मत, राप्रपाका मानबहादुर जबेगूले १ हजार ९३३ मत, राजपाका भुपेन्द्र नेम्बाङले ६६९ मत, राजमुपाका अम्बरबहादुर ताबाले ५९३ मत, स्वतन्त्र उम्मेदवार वीरविक्रम नेम्बाङले २७५ मत, स्वतन्त्र उम्मेदवार देवानदोर्जे थिङले २१० मत र राष्ट्रिय जनमोर्चा नेपालका देवीप्रसाद थापा मगरले १०७ मत प्राप्त गर्नुभएको थियो ।

२०५६ को निर्वाचनपछि संविधानसभाका दुई वटा निर्वाचनमा नेम्बाङले पार्टीबाट टिकट पाउनु भएन । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेमा गणेशकुमार काम्बाङ काँग्रेसका पूर्णकुमार शेर्मासँग ७ मतको अन्तरले पराजित हुनुभयो । २०७० को दोश्रो संविधानसभा निर्वाचनमा काम्बाङ काँग्रेसका नरेन्द्रकुमार केरुङलाई १ हजार ५६४ मतान्तरले पराजित गर्दै संविधानसभा सदस्य बन्नुभयो ।

संघीय ब्यवस्थामा पाँचथर प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र बनेपछि २०७४ को निर्वाचनमा एमालेले प्रतिनिधि सभा सदस्यमा नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमाले र माओवादी केन्द्रवीच बाम गठबन्धन बनाई निर्वाचनमा जाने समझदारीपछि गठबन्धनको उम्मेदवार बन्नुभएका नेम्बाङ काँग्रेसका भीष्मराज आङदेम्बेलाई १० हजार ६१६ मतको अन्तरले पराजित गर्दै सिङ्गो जिल्लालाई प्रतिनिधित्व गरेर निर्वाचित हुने प्रथम प्रतिनिधि सभा सदस्य बन्नुभयो । नेम्बाङले ३८ हजार ६४१ मत प्राप्त गर्दा आङ्देम्बेले २८ हजार २५ मत पाउनु भएको थियो । सो निर्वाचनमा अन्य सात दलका उम्मेदवार समेत प्रतिस्पर्धामा थिए ।

अघिल्ला दुई कार्यकालमा एमाले सरकारमै नगएकाले नेम्बाङ मन्त्री बन्ने सम्भावना थिएन । तेश्रो पटक सांसद् बन्दा मन्त्री हुने जिल्लावासीको अपेक्षा पूरा हुन लामै प्रतीक्षा गर्नुप¥यो । तर २०७६ मङ्सिरमा नेम्बाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेपछि सबैको चासोको पात्र बन्नुभयो । पूर्वाधार विकासको गतिलाई द्रूत बनाउने कार्यमा नेम्बाङ सफल हुनुभयो भने जिल्लामा धेरै महत्वपूर्ण विकास आयोजनाको सुरुआत भए ।

सरकारमा रहँदा सबैको प्रशंसा र चर्चा पाउनुभएका नेम्बाङलाई जिल्लामा उत्तिकै अप्ठ्यारा थिए । पहिले साथमा रहेको माओवादी केन्द्र काँग्रेसका साथमा थियो भने आफ्नो दल एमाले विभाजित थियो । लामो समय जिल्लाको नेतृत्व गर्नुभएका नेता गणेशकुमार काम्बाङ सहितका नेताहरु एकीकृत समाजवादीमा लाग्नुभएको थियो ।प्रतिकूलताका बावजुत नेम्बाङ एमालेबाट मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभयो ।

कुनै ठूलो आमसभा नगरी आफ्ना कुरा टोलवस्तीमा पुगेर जनताका आँगनमा राख्ने, विगतमा थालिएका विकासका कार्यको फेहरिस्त सुनाउने, जनताका दुःख र मर्म बुझ्ने नेम्बाङको शैली गठबन्धनका अघि भारी प¥यो । नेम्बाङ ३२ हजार १३५ मत प्राप्त गर्दै प्रतिनिधि सभाको सदस्य चुनिँदा प्रतिद्वन्द्वी आङ्देम्बेले ३२ हजार ८९ मत प्राप्त गर्नुभयो ।

नेम्बाङको ब्यक्तिगत प्रभावलाई देखेर यहाँका मतदाताले पार्टीभन्दा माथि उठेर मत दिएको पाइन्छ । किनकी प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले पाँचथरमा २६ हजार ५९२ मत मात्रै प्राप्त गरेको छ । यस हिसाबले नेम्बाङले अन्य दलको ५ हजार ५४३ मत प्राप्त गरी चौथो पटक प्रतिनिधि सभाको यात्रा तय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्