११५ वर्षीया मनरानीद्वारा मतदान



पाँचथर । पाँचथरमा एक ११५ वर्षीया वृद्धाले हिँजो सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्नुभएको छ ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. १ नवमीडाँडाका ११५ वर्षीया मनरानी आङ्देम्बेले सोही वडाको तिर्तिरे आधारभूत विद्यालय नर्कटे मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । आङ्देम्बेको नागरिकताको प्रमाणपत्र अनुसार उहाँको जन्ममिति वि.सं. १९६४ साल जेठ ११ गते रहेको छ । छोरा र नातीको सहयोगमा मतदानस्थल पुग्नुभएका आङ्देम्बेले छोरा मनप्रसाद मार्फत मत जाहेर गर्नुभएको हो ।

मनरानीका छोरा मनप्रसाद नै ६५ वर्ष उमेरका रहनुभएको छ । मनप्रसाद र उहाँका छोराहरुले मनरानीलाई करीब एक घण्टा दूरीबाट मतदान स्थलसम्म बोकेर पु¥याउनु भएको थियो । उहाँको मतदाता परिचय पत्र ०८१७३३९८ रहेको छ । मनरानी हिँडडुल गर्न नसक्ने तथा राम्रोसँग आँखा नदेख्ने भएकाले छोरामार्फत मतदान गराइएको सो मतदान केन्द्रका मतदान अधिकृत होमनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्