पाँचथरमा ५४ प्रतिशत मत खस्यो, मतगणना आज सुरु हुने



फिदिम । हिँजो सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार पाँचथरमा ३९ हजार ६३७ जना पुरुष र ३५ हजार २६१ ज्ना महिला गरी ७४ हजार ८९८ जना मतदाता मतदान प्रक्रियामा सामेल भएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । पाँचथरमा कूल एक लाख ३८ हजार ९३२ जना मतदाता थिए । करीब ५४ प्रतिशत मतदाताले मतदान गरेको सो कार्यालयले जनाएको छ ।

केही छिटफुट घटना बाहेक पाँचथरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्लाको कुम्मायक गाउँपालिका वडा नं. ४ स्थित सिद्ध माध्यमिक विद्यालय तिङदेन ‘ख’ मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको २१ वटा मतपत्र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको मतपेटिकामा परेपछि झण्डै दुई घण्टा मतदान रोकिएको थियो ।

विवाद समाधानपछि उक्त केन्द्रमा मतदान सम्पन्न भएको छ । यस्तै फिदिम नगरपालिका–४ स्थित सुखबोध माध्यमिक विद्यालय मतदान केन्द्रमा दुई पटक शंकास्पद वस्तु बिस्फोट भएको थियो । यद्यपि यहाँ शान्तिपूर्ण रुपमा मतदान सकिएको छ ।

पाँचथरमा अहिले विहानसम्ममा सबै मतदान केन्द्रका मतपेटिका मतगणना स्थलसम्म ल्याइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज मध्यान्हबाट मतगणना थाल्ने तयारी गरेका छन् । जसका लागि विहान ११ बजे दल तथा उम्मेदवारका प्रतिनिधिहरुलाई बैठकका लागि बोलाइएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्