पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



फिदिम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको उक्त कार्यालयको आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश टीकेन्द्र दाहालले उद्घाटन गर्नुभयो । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत यहि असोज असोज २३ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेकाले आजबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

प्रतिनिधिसभा सदस्यको एकमात्रै क्षेत्र रहेको पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रतिनिधिसभा र प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रको निर्वाचन कार्यक्रम अगाडि बढाइने मुख्य निर्वाचन अधिकृत दाहालले जानकारी दिनुभयो ।

कार्यालय उद्घाटनपछि आयोजित अन्तरक्रियामा मुख्य निर्वाचन अधिकृत दाहालले निर्वाचनलाई मर्यादित र ब्यवस्थित गर्न सुरक्षा निकाय, राजनीतिक दल, सञ्चार क्षेत्र लगायतको भूमिका प्रमुख रहेकाले सबैबाट सहयोगको अपेक्षा गरिएको वताउनुभयो । अन्तरक्रियामा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचनलाई निश्पक्ष, भयरहित र धाँदलीरहित बनाउने सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले निर्वाचन आचारसंहिताको पालना, निर्वाचनको शान्ति सुरक्षा र समग्र शान्ति सुरक्षालाई ब्यवस्थित गर्न प्रशासन गम्भीर रहेको र सबैको समन्वय अघि बढ्ने वताउनुभयो । जिल्ला निर्वाचन अधिकृत कुमारप्रसाद भट्टराईका अनुसार पाँचथरमा १०२ मतदान केन्द्र र १७७ मतदान स्थल रहेका छन् भने एक लाख ३८ हजार ९३२ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्