शब्दचित्रमा समथिङ : ५२२ नम्बरमा रोकियो एक मलामी



फिदिम । आधा बाउलाको सर्ट, हाफ पाइन्ट र स्याण्डिल लगाएको, कम्मरमा दाउ (खुकुरी) भिरेको, अग्लो र पातलो कदको एक अधबैंशे फिदिम र आसपासको क्षेत्रमा मृत्युका घटनामा प्रायः पुगेकै हुन्थ्यो । ऊ बढी केही थिएन, अरुजस्तै एक मलामी थियो । तर भूमिका भने सधैँ फरक हुन्थ्यो । घरबाट शव उठाउनदेखि घाटसम्म पुर्‍याउन ऊ लागिरहेकै हुन्थ्यो । शव जस्तोसुकै भएपनि उसले एक मानवका रुपमा दाहसंस्कारदेखि मृत्युकार्यमा सरसहयोग गर्थ्यो ।

मलामी जाने मात्रै होइन्, मलामी गएको कुरा दैनिकीसहित डायरीमा लेख्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने पाँचथरको एक सुपरिचित नाम थियो, रामप्रकाश समथिङ ।

वेवारिसे अवस्थाका मृत्युदेखि कालगतिका मृत्युका घटनामा पुग्ने ऊ मलामीमा मात्रै सिमित हुदैनथ्यो । दाउरा किनेर शव जलाउने नसक्नेहरुका लागि रकम सङ्कलन गर्ने, काजक्रियाका लागि सहयोग उठाइदिने जस्ता कार्यमा उसले समाजलाई आव्हान गर्दथ्यो । उसको घोषित ब्यक्तिगत सिद्धान्त थियो – ‘बाँच्दाको जन्ती र मर्दाको मलामी, जन्ती जान निम्तो हुन्छ तथा मलामी जान निम्तो हुदैन । त्यसैले कसैको मृत्युको खवर सुनेपछि भ्याएसम्म र सकेसम्म सहभागी हुनु मानवीय कर्तब्य हो ।’

यसरी मलामी जाने मात्रै होइन्, मलामी गएको कुरा दैनिकीसहित डायरीमा लेख्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने पाँचथरको एक सुपरिचित नाम थियो, रामप्रकाश समथिङ । वास्तविक नाम रामबहादुर गुरुङ, साहित्यिक नाम गुरुङ रामप्रकाश समथिङ भएपनि आम जिल्लावासीसँग ‘राम सर/दाइ/भाइ’ वा ‘समथिङ सर/दाइ/भाइ’ नामले प्रख्यात ब्यक्तित्व ५२२ नम्बरसम्म मलामी भई सदाका लागि रोकिएको छ ।

समाजका हरेक क्षेत्रलाई सहयोग गरी वास्तविक ‘समाजसेवी’को उपमा पाएको उहि प्रिय ब्यक्तित्वको ५३ वर्षको अल्पायूमा विहीवार झापाको विर्तामोडमा उपचारका क्रममा निधन भएको थियो । पत्रकारिता, साहित्य, मानवअधिकार, नागरिक आन्दोलन लगायत आम क्षेत्रमा क्रियाशील भई सबैको मन र मस्तिष्कमा बसेका समथिङको शनिवार शवयात्रा सहित दाहसंस्कार गरिएको छ ।

फिदिम–१ भानुमार्गस्थित उहाँको घरबाट सुरुआत भएको शवयात्रा बजार परिक्रमापछि फेमे खोला घाटमा दाहसंस्कार गरिएको हो । शवयात्रा तथा दाहसंस्कारको कार्यमा फिदिम सहित जिल्लाको विभिन्न स्थानका हजारौं मानिस मलामीका रुपमा सहभागी भएका थिए ।

हजारौं मलामीहरु उपस्थित भई समथिङलाई विदाई गरिरहँदा अधिकांशले उहाँको मलामी यात्राको स्मरण गरेका थिए । ६२ वर्षको उमेरमा निधन भएका फिदिम–१ लखनमार्गका डम्बरबहादुर ग्याङ्मी मगरको भदौ २५ गते शनिवार जीवनको ५२२औं मलामीका रुपमा फिदिमकै नरेश आङ्बोसँग सहभागी हुनुभएका समथिङ ज्वरोले सताएपछि फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पताल भर्ना हुनुभएको थियो । शरीरमा अक्सिजनको कमी, रगतमा प्लेटलेस तथा रक्तचाप कमी, स्वासप्रश्वासमा समस्या लगायत स्वास्थ्य जटिलता बढ्दै गएपछि उक्त अस्पतालका चिकित्सकले उहाँलाई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा रेफर गरेका थिए ।

तर समथिङको उपचारका क्रममा बिएण्डसी अस्पताल विहीवार निधन भएको थियो । यसरी सबैको मलामी बन्ने, समाज सेवालाई आफ्नो दायित्व ठान्ने र कुनै स्वार्थ नराखी सेवाभावमा समर्पित हुने समथिङ ५२२ नम्बरसम्म मलामी भई विदा हुनुभयो ।

पाँचथरजस्तो सुदूरपूर्वका जिल्लामा बसेर देश विदेशले चिनेको समथिङले अमूल्य निधिका रुपमा पाठकहरुलाई ५५ वटा पुस्तक समर्पण गरेर विदा हुनुभएको छ ।

मलामी जानेमात्रै होइन्, समाजमा आइपरेका हरेक समस्या, अप्ठ्यारा र असजिलामा उपस्थित हुने, दीन दुःखी, असक्त, असहाय र समस्या परेका मानिसहरुलाई सहयोग गर्ने पहिलो नाम थियो, रामप्रकाश समथिङ । हक्की र स्पष्ट स्वभावका समथिङका परिचय बहुआयामीक छ ।

पाँचथरजस्तो सुदूरपूर्वका जिल्लामा बसेर देश विदेशले चिनेको समथिङले अमूल्य निधिका रुपमा पाठकहरुलाई ५५ वटा पुस्तक समर्पण गरेर विदा हुनुभएको छ । संस्मरण, कथा सङ्ग्रह, उपन्यास, कविता सङ्ग्रह, जानकारीमूलक तथ्याङ्कीय सामग्री लगायत समाविष्ट उहाँका कृतिहरु पनि विशेष प्रकारका कार्यक्रमहरुमार्फत लोकार्पण गरिएका थिए ।

विपन्नको उपचारदेखि घर निर्माणसम्मका कार्यको अगुवाई गर्नुभएका उहाँले आफ्नै संरक्षकत्वमा ‘समथिङ फाउण्डेसन नेपाल’ नामको संस्था स्थापना गरी उक्त कार्यलाई निरन्तरता दिने ब्यवस्था गर्नुभएको छ । उहाँकै अग्रसरतामा फिदिम–४ को गढी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको अध्ययनमा सहयोग गर्ने कार्यले एक हदसम्म सफलता नै पाएको छ । समाजलाई बाटो देखाउनुभएका समथिङको ५३ वर्षको उमेरमा देहवसान हुँदा शवयात्रा र दाहसंस्कारमा सहभागी हजारौं मलामीका आँखा रसाएका थिए ।

बालबालिकादेखि जेष्ठ नागरिससम्म सबैलाई समभावले हेर्ने, बोलाउने र कुराकानी गर्ने, सबैको भलो होस् भन्ने उद्देश्यले हक्की स्वभावले सुझाव दिने समथिङको बानी सबैका लागि प्रिय थियो । सदरमुकामका प्रायः सबै मानिसहरुका कुनै न कुनै काम गरिदिनुभएका समथिङको जिल्लाका कुना कन्दरासम्म परिचय थियो । पत्रकारिता र गैरसरकारी संस्थामार्फत सामाजिक क्षेत्रको यात्रा सुरुआत गर्नुभएका उहाँ लामो समयसम्म मानवअधिकार चेतना र विकास केन्द्र (हुकोडेक नेपाल) नामक संस्थामा आवद्ध हुनुहुन्थ्यो ।

गत वैशाक १ गते जनसेवाश्री पदकबाट समेत विभूषित हुनुभएका उहाँ २०२६ साल माघ २९ गते जिल्लाको नांगीनमा जन्मनुभएको थियो । उहाँले एकै पटक २२ वटा कृति जिल्लाका पत्रकारहरुबाट विमोचन गराउनुभएको थियो भने चिकित्सकहरुबाट समेत नौ वटा कृति एकैसाथ विमोचन गराउनुभएको थियो । उहाँको ५५औं कृतिका रुपमा ‘ओयामका जनप्रतिनिधिहरु’ नामक कृति प्रकाशन भएको थियो ।

समथिङले २५ वर्ष ४ महिना २५ दिनमा ८२ वटा डायरीमा दैनिकी लेख्नुभएको थियो भने कोरोनाभाइरस सङ्क्रमणको सुरुआत भएपछि गत भदौ २५ गतेसम्म दैनिक अभिलेख राख्ने तथा सामाजिक सञ्जालमा पोष्ट गर्दै आउनुभएको थियो । यी सबै कार्यका अतिरिक्त लोक बाजा संरक्षण अभियान चलाएर झनै चर्चा कमाउनुभएको थियो ।

समथिङको निधनमा एक मुर्धन्य समाजसेवी एवं काविल, सिद्धहस्त र प्राज्ञिक ब्यक्तित्व गुमाएको जिल्लावासीको प्रतिक्रिया छ । उहाँका श्रीमती र दुई जना छोराहरु हुनुहुन्छ । उहाँको निधनमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल लगायत संघ संस्थाले शोक वक्तब्य जारी गर्दै समाजसेवा, लेखन तथा पत्रकारिताको क्षेत्रमा एक अनुकरणीय एवं स्रोत ब्यक्तिको अवसान भएको वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्