पाँचथरमा भूमि आयोगमा पाँच हजार बढी निवेदन



फिदिम । पाँचथरमा पाँच हजार ८५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीले भूमि आयोग जिल्ला समितिमा निवेदन दिएका छन् ।

राष्ट्रिय भूमि आयोगले प्रथम पटक प्रकाशन गरेको ३५ दिने सूचनाका आधारमा जिल्लाका ८ मध्ये ७ वटा स्थानीय तहमा गरी पाँच हजार ८५ जनाको निवेदन परेको हो ।

जिल्लाको मिक्लाजुङ गाउँपालिकामा सबैभन्दा बढी एक हजार ७ सय ७६ र कुम्मायक गाउँपालिकामा सबैभन्दा कम ३३ वटा निवेदन परेको आयोगको जिल्ला समितिले जनाएको छ । पाँचथरको याङवरकमा गाउँपालिकामा भने एउटा समेत निवेदन नपरेको समितिका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख उमेश नेम्वाङले जानकारी दिनुभयो ।

समितिको तथ्याङ्कअनुसार निवेदनमध्ये भूमिहीन दलितका ९० वटा, भूमिहीन सुकुम्बासीका १ सय २२ वटा र अब्यवस्थित बसोबासीका ४ हजार ८ सय ७३ वटा निवेदन परेका छन् । निवेदन आएपश्चात जिल्लाको हिलिहाङ गाउँपालिकाले अस्थायी निस्सा वितरण गरेको छ ।

यस्तै फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकाले तथ्याङ्क प्रविष्टीको काम गरिरहेका छन् । हाल सम्म एक हजार १०० निवेदनको लगत प्रविष्टी भइसकेको सदस्य सचिव नेम्वाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्