ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय



काठमाडौं । नेकपा (एमाले) पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ ।

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । “समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो”, शनिबारको बैठकपछि एमाले नेता किरण गुरुङले भन्नुभयो ।

पार्टी कार्यालय, च्यासलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री बन्नुभएको थियो । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उहाँ ९ महिनामा पदमुक्त हुनुभयो ।

दोस्रो पटक ३ फागुन २०७४ मा पनि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री बन्नुभयो । २०७४ को चुनावमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेको एमालेले भावी प्रधानमन्त्रीका रुपमा कसैलाई अघि सारेको थिएन । तर गठबन्धनले बहुमत पाएपछि ओली प्रधानमन्त्री बन्नुभयो ।

एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि ओलीलाई थप सहज भयो । तर दुई पटक संसद विघटन गरेपछि ओली २८ असार २०७८ को सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्