ऐतराज केरुङ स्मृति गजल पुरस्कार लेकाली कान्छा मुकुमलाई



फिदिम । पाँचथर गजल मञ्चले वर्षेनि वितरण गर्दै आएको ऐतराज केरुङ स्मृति गजल पुरस्कारबाट ताप्लेजुङका गजलकार लेकाली कान्छा मुकुम पुरस्कृत हुनुभएको छ ।

१५७औं मोती जयन्तीको अवसर पारेर आज पाँचथरको फिदिममा मञ्चले आयोजना गरेको कार्यक्रममा आठौं ऐतराज केरुङ स्मृति गजल पुरस्कारबाट लक्ष्मीप्रसाद मादेन (लेकाली कान्छा मुकुम)लाई पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार प्रेम ओझाले मादेनलाई सम्मानपत्र तथा पुरस्कारका संस्थापक मधुराज केरुङले नगद राशीले पुरस्कृत गर्नुभयो । पुरस्कारको राशी रु. आठ हजार आठ रहेको छ ।

ताप्लेजुङको फुङलिङ घर भएका मादेन २०५८ सालबाट लेखनमा सक्रिय हुनुहुन्छ । उहाँका प्रिय प्रयास, एक झट्टी हवाई, ऐना, संघीय झिल्का लगायत कृतिहरु प्रकाशित छन् । श्रष्टाहरु सागर केरुङ, मधुराज केरुङ लगायतको परिवारले ऐतराज केरुङ स्मृति गजल पुरस्कार स्थापना गरी पाँचथर गजल मञ्चमार्फत देशैभरका गजलकारहरुलाई वर्षेनि पुरस्कृत गरिँदै आएको छ ।

उक्त पुरस्कारबाट हालसम्म गजलकारहरु मदन मुच्र्छना, सुन्दर कुरुप, सुमित्रा वाङदेल चेली, प्रकट पंगेनी शीव, ललीजन रावल, राबत र प्रेम ओझा पुरस्कृत भएको पाँचथर गजल मञ्चका अध्यक्ष सन्देश सुब्बाले जानकारी दिनुभयो ।

पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर मञ्चले १२औं शब्द श्रृङ्खला समेत सञ्चालन गरेको थियो । कार्यक्रममा राज दिलाञ्जली, पूर्ण परिचित जबेगू, नरेन्द्र केरुङ अन्यौल, मणि आँशु चापागाँई, कुवेर मृदुल आङ्बो, समीर पारखी बेघा र जुनु खतिवडाले गजल वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्