पाँचथरमा आफ्नै नाबालिका विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ



फिदिम । पाँचथरमा नाबालिका विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

याङवरक गाउँपालिका–४ स्थित सनसाइन बोर्डिङ स्कुलको कक्षा ५ मा अध्ययनरत नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतको दार्जिलिङको रिम्बिक घर भएका शिक्षक २५ वर्षीय सरजित ठटाललाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रवार साँझ नाबालिकामाथि शिक्षक ठटालले बलात्कार गरेको भनि पीडितका आफन्तको जानकारी गराएपछि शनिवार आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नाबालिकाका परिवारले आइतवार जाहेरी दिएपछि आरोपितलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पीडित नाबालिका अन्दाजी १२ वर्षकी छन् । घटनापछि आज उक्त विद्यालय तनावग्रस्त बनेको स्थानीयवासीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्