लिम्बूनी पुलको कथा



ताप्लेजुङ । मान्छेको जीवनलाई नदीसँगै तुलना गर्ने गरिन्छ । नदी जस्तै बगिरहने जिन्दगीमा नदीसँग जोडिएका अनेकौँ कथाहरु छन् ।

नदी सधैँ शान्त र अनुशासित हुँदैन । अनि मान्छेको जिन्दगी पनि । पूर्वी पहाडका साना खहरेदेखि नदीसम्मले धेरैको ज्यान लियो । त्यही वर्षायाममा उर्लेर आउने भेलबाट जिन्दगी जोगाउन अनेकौँ प्रयास हुन्थ्यो । सानो लगानीमा फड्के अनि कसैले ठूलै लगानी गरेर झोलुङ्गे पुलसम्म बनाउने गर्दथे ।

फड्केको भर हुँदैन । तैपनि त्यो समाज सेवाको नमूना हो । कतिपय यस्ता इतिहासहरु छन् जसले निःस्वार्थ समाज सेवाको झल्को दिन्छ । खोज्दै जाँदा निःस्वार्थ भावले पुल बनाइदिनेका कथाहरु पनि भेटिन्छन् ।

त्यो बेला झोलुङ्गे पुल बनाउने आँट गर्नु त्यति सहज थिएन । सोचेर मात्र सम्भव थिएन । धन भएर मात्र पनि सम्भव थिएन । तर पनि झोलुङ्गे पुल बनाएर समाजमा अनुकरणीय उदाहरण देखाउने धेरै छन् ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र पाँचथरको हिलिहाङ जोड्ने लिम्बूनी पुल एउटा उदाहरण हो । करिब विक्रम संवत् २०२० को दशकको कुरा हो । त्यतिखेर बनेको लिम्बूनी पुलको अस्तित्व अहिले छैन तर त्यही ठाउँमा बनेको अर्को पुलको नाम पनि उही लिम्बूनी पुल रहेको छ ।

हिँडेर जाँदा निधुरादिनबाट अमरपुर निस्कँदा तमोर खोला तर्ने पुल नै लिम्बूनी पुल थियो । त्यहाँको गाउँलेको समस्या देखेर एकजना लिम्बूनीले त्यस ठाउँमा पुल बनाइदिएकी रहिछन् । अहिलेको ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेको नेसुममा वि.सं. १९३४ को चैतमा जन्मिएकी विष्णुमाया लिम्बुनीको नामबाट बनेको पुल नै हो लिम्बूनी पुल ।

विष्णुमाया नाल्बो आङ्बुहाङले आफ्नो श्रीमानको सम्झनामा पुल बनाइदिनुभयो । भगवानले भन्छन रे तँ आँट म पुर्रयाउँछु । विष्णुमायाको त्यो समाजसेवा गर्ने आँटलाई भगवानले नै पुर्याएको जस्तै महसुस हुन्छ ।

कुनै पनि काम गर्न उमेर वा धन होइन मन हुनुपर्छ । दृढ संकल्प हुनुपर्छ । आँटेको पूरा हुन्छ । हुन पनि विष्णुमायाको उमेरले ७५ छोएको थियो त्यस बेला ।

गाउँकी एक गृहिणीसँग पक्कै पनि पर्याप्त धन थिएन । तर, उहाँको आँट र साहसका अगाडि कसैको केही लागेन । उहाँले गाउँलेका लागि झोलुङ्गे पुल बनाइदिनुभयो । गाउँलेका अनुसार नेपालमा राणा शासनको अन्त्यको समय आफ्ना श्रीमान गुमाउनु भएकी विष्णुमायाले श्रीमानको सम्झनामा पुल बनाइ दिनु भएको हो । पुल बनाउन आवश्यक पर्ने सामग्री भारतको सिलगुडीबाट ल्याइएको थियो ।

विष्णुमायाले पुलका लागि चाहिने फलामे लट्ठा तथा फलामे साङ्लो लिन गाउँलेहरूलाई सिलगुडी पठाउनु भयो र फलामे लट्ठा तथा फलामे साङ्लो उतैबाट ल्याइएको थियो । पुल बनेपछि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका गाउँले सबैलाई सहज भयो । गाउँबाट ढाकर बोकेर लहरै हिँड्ने भरियाहरू पनि खुसी भए । अब बर्सेनी जीवन गुम्ने डर भएन ।

गाउँले सबै मिलेर पुलको नाम नै विष्णुमायाको सम्झनामा लिम्बूनी पुल राखिदिए । विष्णुमायालाई कसैले सम्झन्छन् वा सम्झँदैनन् त थाहा भएन तर लिम्बूनी पुलको नाम सदैव अमर भएको छ । उहाँले बनाएको पुलको स्थानमा नयाँ पुल बन्यो, त्यसपछि फेरि यातायात नै सञ्चालन हुने गरी पक्की पुल बन्दैछ ।

उता, फुलबारी र फुङ्लिङ जोड्ने तमोर नदीमा स्थापना भएको खँड्कुले पुलको कथा पनि त्यस्तै छ । गाउँका एक समाजसेवीले खँड्कुलो भरी नगद सिक्का ल्याएर पुल बनाएका थिए रे । १० वर्षे सशस्त्र द्वन्द्वको समयमा त्यो पुल काटियो । पुनः नेपाल सरकारले त्यस ठाउँमा झोलुङ्गे पुल नै निर्माण गरिएको छ ।

यस्ता थुप्रै वास्तविक कथाहरु छन् । जसले निस्वार्थ समाजको सेवा गरे । पछिल्लो समय भने समाजसेवा देखावटी चिजको रुपमा आइरहेको छ । आफ्नो स्वार्थ पूर्तिका लागि समाजसेवाको नाटक गर्ने प्रचारमा बढी जोड दिनेहरुको कमी छैन यहाँ ।

‘पहिले पहिले समाज सेवाको नाममा सामान्य परिवारले धारो, पाटी, चौतारो बनाउँथे । सक्नेले झोलुङ्गे पुल, विद्यालयहरु बनाउँथे’ आठराई त्रिवेणी गाउँपालिका १ का ७३ वर्षीय कासीनाथ पौडेल भन्नुहुन्छ, ‘अहिले त समाजसेवाको अर्थ नै फेरिएको छ । आफ्नो स्वार्थ पूरा गर्नका लागि समाजसेवा गरेजस्तो गर्छन ।’ समाजसेवा भड्किलो र स्वार्थी भइरहँदा यस्ता निस्वार्थ समाजसेवा गर्नेहरुलाई भने कहिल्यै बिर्सनु हुँदैन । (उज्यालो अनलाइनबाट)

प्रतिक्रिया दिनुहोस्