आज साउन महिनाको अन्तिम सोमबार, व्रत पूरा गरिँदै



काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ।

काठमाडौंको पशुपतिनाथ, क्षेत्रमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। यसैगरी काठमाडौंकै गोकर्णेश्वर, कोटेश्वर ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेपलाञ्चोकको धनेश्वर र सिन्धुलीको कुशेश्वर, लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

यो वर्ष साउनमा पाँचवटा सोमबार परेको छ। अन्तिम सोमबार ब्राह्मणलाई पूर्णपात्र दान गरेपछि व्रत पूरा भएको मानिन्छ। ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई भनिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ।

पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ। यो दिन आफू र परिवारको सु–स्वास्थ्य, दीर्घायु एवं प्रगति कामना गर्दै व्रत बस्ने परम्परा छ। शिवको अर्थ कल्याण भएकाले आराधना गर्दा उनी खुशी हुन्छन् र भक्तजनको मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास छ।

प्रतिक्रिया दिनुहोस्