फिदिमका ब्यवसायी चापागाँई लडेको अवस्थामा मृत फेला



फिदिम । पाँचथरका एक ब्यवसायी जिल्लाको हिलिहाङ गाउँपालिका–७ स्थित तमोर कोरिडोर सडकमुनि मृत अवस्थामा फेला परेका छन् ।

फिदिमको अस्पताल चोकमा होटल सञ्चालन गर्दै आएका जिल्लाका कुम्मायक घर भएका नरेन्द्र चापागाँई तमोर कोरिडोर सडकअन्तर्गत हिलिहाङ–७ को खाल्लेखोला छेउ भीरमा आज मृत फेला परेका हुन् । चापागाँई सडकभन्दा करीब १०० मिटर तल घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

चापागाँईको मोटरसाइकल सडकको भेउमा लडेको अवस्थामा फेला परेको छ । लडेको मोटरसाइकल उठाउने क्रममा सडकबाट झरेर चापागाँईको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रनाउ थापाले वताउनुभयो ।

तर लडेको मोटरसाइकल र मोटरसाइकलको चावी करीब २० फिटको फरकमा फेला परेकाले घटना शंकास्पद देखिएको घटनास्थल पुगेकाहरुको भनाई छ । चापागाँई हिलिहाङ–१ भालुचोकबाट कोरिडोरको बाटो हुँदै हिँजो साँझ फिदिम हिँडेका थिए ।

उनीसँगै भालुचोकबाट फिदिम हिँडेका साथीहरु उनीभन्दा अगाडि फिदिम आएका थिए । चापागाँई बेलुकी घर आइनपुगे पछि विहानबाट खोजी थालिएको थियो । यस क्रममा उनको मोटरसाइकल सडकको छेउमा पल्टिएको अवस्था फेला परेको थियो भने चापागाँई सडकमुनि मृत अवस्थामा फेला परेका थिए ।

मृतकको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको तथा घटनावारे थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिनुभयो । चापागाँई मृत फेला परेको स्थान नजिकै एक महिनाअघि जिल्लाको हिलिहाङ–४ का एक युवक समेत लडेर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्