पर्यटकीय सडकका रुपमा तमोर कोरिडोरको मुलघाट–गणेशचोक खण्ड कालोपत्रे हुने



फिदिम । तमोर कोरिडोर सडक आयोजनाको मुलघाट–गणेशचोक खण्ड कालोपत्रे हुने भएको छ ।

तमोर कोरिडोर सडक आयोजना मुलघाट कार्यालयले आज उक्त खण्डको ११० किलोमिटर सडक कालोपत्रेका लागि बोलपत्र आव्हान गरेको हो । रु. ५ अर्ब ७६ करोडको लागतमा उक्त खण्ड आसफाल्ट प्रविधिबाट कालोपत्रेका लागि बोलपत्र आव्हान गरिएको तमोर कोरिडोर सडक आयोजना मुलघाट कार्यालयका प्रमुख कुवेर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार बोलपत्रको अवधि एक महिनाको रहेको छ ।

पूर्वी पहाडको वहुप्रतिक्षित आयोजना पर्यटकीय दृष्टिले आकर्षक र नमूना बनाउन लागिएको हो । यसका लागि आसफाल्ट प्रविधिको प्रयोग गर्न खोजिएको नेपालीले जानकारी दिनुभयो । “यो प्रविधिको प्रयोग बजारी क्षेत्र र तराईमा रहेपनि पहाडमा एकदमै कम हुन्थ्यो”, उहाँले भन्नुभयो, “यो प्रविधिको प्रयोगका लागि छुट्टै मेसिनको प्रयोग हुन्छ ।” पहाडी क्षेत्रका सडक बालोपत्रेका लागि बिबिएसटी प्रविधि प्रयोग हुने गरेको थियो । तीन वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने योजनासहित कार्यालयले ठेक्का आव्हान गरिएको जनाएको छ ।

कार्यालयले पहिलो चरणमा तमोर कोरिडोरको मुलघाटदेखि सुभाङखोलासम्मको खण्ड तथा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुभाङखोला–गणेशचोक (फेदापा) खण्ड कालोपत्रे गर्न लागेको हो । “यो खण्ड ग्रावेल भइसकेकाले कालोपत्रे गर्न लागिएको हो”, आयोजनाका प्रमुख नेपालीले भन्नुभयो, “तमोर कोरिडोरको सुभाङखोला–लिम्बुनीपुल–ओलाङचुङगोला खण्ड सडक ग्रावेल भइरहेको छ । ग्रावेल सकिएपछि कालोपत्रे सुरु हुन्छ ।” सडक कालोपत्रेको ठेक्का लागेपछि डिजाइन गर्ने योजनाबमोजिम सडकको डिजाइनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

कालोपत्रे हुन लागेको ११० किलोमिटर खण्डमा सात स्थानमा मोटरेवल पुल निर्माण गर्नुपर्ने हुन्छ । सात वटै पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको नेपालीले जानकारी दिनुभयो । ओलाङचुङगोलादेखि चतरासम्मको तमोर कोरिडोर सडकको कूल लम्बाई २३८ किलोमिटर छ । कालोपत्रे आव्हान भएको बाहेक बाँकी खण्डमा आठ वटा पुल समेत निर्माण गर्नुपर्ने छ ।

वि.सं. २०६५ सालमा निर्माण थालिएको यो सडक मुलुकलाई उत्तर–दक्षिण जोड्ने सबैभन्दा द्रूत मार्ग हो । अघिल्लो सरकारले कोरिडोरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तयार गरी बहुवर्षीय ठेक्का सम्झौताका लागि राष्ट्रिय योजना आयोग पठाएको थियो । कालोपत्रे हुने खण्डमा गत वर्ष नै ट्र्याक खोल्ने तथा ग्रावेल विच्छ्याउने कार्य सकिएको थियो । सरकारले कोरिडोर निर्माणका लागि बजेट छुट्ट्याई स्रोत सुनिश्चितता गरेपछि कालोपत्रे हुन लागेको हो ।

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटालाई तमोर नदीको किनारैकिनार हुँदै अघि बढ्ने सडकले धनकुटाको मुलघाट हुँदै सुनसरीको धरान तथा चतारासम्म जोड्दछ । कोरिडोरको ग्रावेल भएको खण्ड कालोपत्रे हुने भएपछि यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । ट्र्याक खोलिएपछि दुई वर्ष अघिबाट यस सवारीका साधन यस सडकमा नियमित सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्