पहिरोमा बेपत्ता दुई जनाको ३७ घण्टापछि शव फेला



फिदिम । शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ ।

शुक्रवार राति १०ः१५ बजे पहिरो गई घर बगाउँदा फालेलुङ–७ विहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिँजो विहान ८ बजे फेला परेको थियो ।

पहिरोमा पुरिएर बेपत्ता भएका रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आज विहान ११ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

शुक्रवार राति १२ः३० बजेबाट स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले बेपत्ताको खोजी थालेका थिए । स्काभेटरको सहायताले पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको हो । रुपलालका तीन सन्तानमध्ये जेठी छोरीको बिवाह भइसकेको र छोरा र कान्छी छोरी अध्ययनका क्रममा झापा थिए ।

पहिरो गएका समय रुपलालकै घरमा रहेका उनका काका दलप्रसाद मगर भने उच्छिटिएर बाँच्न सफल हुनुभएको थियो । घरभन्दा करीब ३०० मिटर माथिबाट पहिरो आएको स्थानीयवासीले वताएका छन् । वर्षा लाग्नुअघि नै सम्पन्न हुनुपर्ने सडक निर्माणको कार्य समयमा सम्पन्न नहुँदा पहिरो गएको स्थानीयवासीको भनाई छ । पहिरो गएको क्षेत्र अत्यधिक वर्षा हुने क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्