अपडेटः पहिरोमा बेपत्तामध्ये एक जना मृत फेला



फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ७ विहीदिनमा पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये एक पुरुषको मृत अवस्थामा शव फेला परेको छ ।

पहिरो पन्छाउने क्रममा घरमुली ४२ वर्षीय रुपलाल मगरको शव फेला फेला पारी पहिरोबाट निकालिएको हो । स्थानीयवासी समेतको सहयोगमा सुरक्षाकर्मीले स्काभेटरको मद्दतले रुपलालको परिवारको खोजी गरिरहेका छन् । पहिरोले घर बगाएपछि रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका टोली तथा स्थानीयवासीले वेपत्ताहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । पहिरोले रुपलालको घर तथा गोठ समेत बगाएको छ । पहिरामा परी तीन वटा गाई, चार वटा बाख्रा, ३ वटा सुंगुर सहित पशु चौपाया समेत मरेका छन् ।

गएराति करीब १०ः१५ बजे फालेलुङ–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा रुपलाल सहित तीन जना बेपत्ता भएका थिए । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिटिएर बाँच्न सफल भएका छन् । फिदिमबाट सुरक्षाकर्मीको टोली मध्यरात १२ः५० मा घटनास्थल पुगी बेपत्ताको खोजी जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्