विरामी बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु



फिदिम । पाँचथरबाट विरामी बोकेर झापातर्फ जाँदै गरेको बोलेरो इलाममा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पाँचथरको मिक्लाजुङस्थित प्राथमिक स्वास्थ्य केन्द्र रबिबाट विरामी लिएर झापाको दमक जाँदै गरेको बोलेरो इलामको माङसेबुङ गाउँपालिका वडा नं. २ दहगाउँमा दुर्घटना हुँदा पाँचथरका दुई जना तथा इलामका एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ कुरुम्बाका ६५ वर्षीय हिमप्रसाद लावती र उनकी श्रीमती ५७ वर्षीय पदमकुमारी तथा इलामको माङसेबुङ गाउँपालिका वडा नं. २ का ५० वर्षीय प्रकाश राई छन् । घाइतेमध्ये हिमप्रसाद र प्रकाशको घटनास्थलमै तथा पदमकुमारीको उपचारका लागि झापाको दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

रबिबाट दमकतर्फ जाँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो आज दिउँसो करीब १२ बजे सडकबाट करीब २०० मिटर तल झरी दुर्घटना भएको हो । बोलेरो चालक भने फरार रहेकाले खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्