याङवरकको बजेट ४८ करोड ९० लाख



नेत्र कोइराला, थर्पु

पाँचथरको याङवरक गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० बजेट रु. ४८ करोड ९० लाख हुने भएको छ ।

संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण, समपुरक तथा अन्य अनुदान र बजेट, गाउँपालिकाको आन्तरिक आम्दानी तथा दातृ निकायबाट प्राप्त हुने अनुदान तथा लागत साझेदारी रकम समेत गरी गाउँपालिकाको आगामी आर्थिक वर्षको कूल बजेट रु. ४८ करोड ९० लाख हुने भएको हो । प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री वसन्तकुमार नेम्वाङको प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष भीमबहादुर (सुवास) योङयाको अध्यक्षता तथा सञ्चालनमा गाउँपालिकाको शुक्रवार सुरु भएको एघारौं गाउँसभामा गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले उक्त अनुमान सहितको बजेट, नीति, कार्यक्रम, विनियोजन ऐन २०७९, आर्थिक ऐन २०७९ पेश गर्नुभएको हो ।

गाउँपालिकाले आगामी आ.व.मा रु. ४६ लाख ५० हजार आन्तरिक आय हुने अनुमान गरेको छ । कूल बजेटमध्ये गाउँपालिका तथा वडा कार्यालयको प्रशासनिक खर्च रु. छ करोड ७५ लाख र विकास निर्माणका योजना तथा कार्यक्रममा रु. ४२ करोड १५ लाख बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले आर्थिक विकासमा रु. एक करोड ४१ लाख, सामाजिक विकासमा रु. एक करोड ३३ लाख, स्वास्थ्यमा रु. एक करोड १३ लाख, खानेपानी र खेलकुदमा समान रु. १५/१५ लाख, पूर्वाधार विकासमा रु. एक करोड ९१ लाख, सिंचाईमा रु. एक करोड, संस्थागत विकास तथा सेवा प्रवाहमा रु. एक करोड २६ लाख, वातावरण तथा विपत ब्यवस्थापनमा रु. २४ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष मेन्याङ्बोले जानकारी दिनुभयो । गाउँपालिकाले छ वटै वडाहरुलाई रु. २५ लाखका दरले बजेट सिलिङ पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्