
नेत्र कोइराला, थर्पू
याङवरक गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट कृषकहरुलाई १७ थान हाते ट्र्याक्टर वितरण गरेको छ ।
कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिका भित्रका कृषक समूह तथा सहकारीहरुलाई हाते ट्र्याक्टर वितरण गरिएको हो । आज गाउँपालिकाको केन्द्र थर्पूमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भीमबहादुर (सुवास) योङयाले कृषक समूह तथा सहकारीका प्रतिनिधिहरुलाई हाते ट्र्याक्टर हस्तान्तरण गर्नुभयो ।
कृषक समूह तथा सहकारीहरुसँग गाउँपालिकाको ७० प्रतिशत लागत साझेदारी तथा वडा नं. २ को ९० प्रतिशत लागत साझेदारीको रकमबाट हाते ट्र्याक्टर वितरण गरिएको हो । रु. १२ लाख ५८ हजारको लागतमा १७ थान ट्र्याक्टर खरिद गरी वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

कृषि यान्त्रिकीकरणलाई सम्वद्र्धन गर्दै कृषि उपज उत्पादन बढाउन तथा कृषि कर्मलाई सहज बनाउन हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष योङयाले वताउनुभयो । कृषि उपज उत्पादन बढाई गाउँपालिकावासीको आर्थिक अवस्था सुधार गर्न तथा समग्र कृषि प्रणालीलाई आधुनिक बनाउन गाउँपालिकाले आगामी दिनमा समेत कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरणका कार्यक्रम अघि बढाइने अध्यक्ष योङयाको भनाई छ ।
गाउँपालिकाको कृषि शाखाद्वारा आयोजित हाते ट्र्याक्टर वितरण कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष राजेन्द्र खालिङ राई, वडा नं. २ का वडाध्यक्ष देउकुमार योङहाङ, वडा नं. ३ का वडाध्यक्ष विमल राई सहित गाउँपालिकाका कर्मचारीहरु, कृषक समूह तथा सहकारीका प्रतिनिधिहरु लगायतको समेत उपस्थिति थियो ।
