शंकास्पद अवस्थामा घाइते फेला परेका योङयाको मृत्यु



फिदिम । शंकास्पद अवस्थामा घाइते फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

तमोर कोरिडोरअन्तर्गत जिल्लाको हिलिहाङ गाउँपालिका–७ एकचेपाको भीरमा घाइते अवस्थामा फेला परेका हिलिहाङ गाउँपालिका–४ मझैटारका ३६ वर्षीय रमेश योङयाको उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् । हिँजो अपरान्ह ५ बजे घरबाट फिदिम हिँडेका योङयाको मोटरसाइकल, झोला र लत्ता कपडा तमोर कोरिडोरको एकचेपास्थित भीरमा पर्ने बाटोमा फेला परेपछि स्थानीयले प्रहरीमा खवर गरेका थिए ।

योङयाको अनटेष्ट मोटरसाइकल सडकको छेउमा चाबी लगाइरहेको अवस्थामा सुरक्षित फेला परेको थियो भने सडकमा उनका अन्य सामग्री फेला परेका थिए । खोजी गर्ने क्रममा योङया सडकबाट करीब ४०० मिटर तल खोल्सीमा घाइते अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय अमरपुरको टोलीले स्थानीयवासीको मद्दतमा योङयालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृतकको शवको शव परीक्षण जिल्ला अस्पताल भएको छ ।

योङयाको मोटरसाइकल फेला परेको सडकको छेउमा विभिन्न स्थानमा मोटरसाइकलको हेलमेट, ज्याकेट, जुत्ता, झोला लगायत सामग्री शंकास्पद अवस्थामा फेला परेको स्थानीयवासीको भनाई छ । घाइते अवस्थामा भेटिँदा मृतकको शरीरमा भित्री बस्त्र मात्रै रहेका कारण स्थानीयवासीले घटनालाई शंकास्पद मानेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्