ट्याङ्करको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु



फिदिम । ट्याङ्करसँग ठक्कर खाई घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

हिँजो जिल्लाको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा ट्याङ्करसँग ठक्कर खाई घाइते भएका मोटरसाइकल चालक सुनसरीको रामधुनी नगरपालिका–७ का प्रेम घिसिङको उपचारका क्रममा गएराती मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी घिसिङकी श्रीमती कञ्चन मगरको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरको च्याङथापूबाट झापातर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङ्कर र झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेको को ५ प २३३० नम्बरको मोटरसाइकल हिँजो दिउँसो १ः३० बजे पाँचथरको हिलिहाङ–७ सल्लेरीमा एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा मृतक मोटरसाइकल चालक घिसिङको दाँया घुँडा र शरीरका भित्री भाग चोट लागेको थियो भने उहाँकी श्रीमती मगरको घुँडा र कम्मरको भित्री भागमा चोट लागेको थियो । घाइते घिसिङ दम्पत्तिलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पतालमा ल्याइएकामा थप उपचारका लागि दिउँसो ४ः४० बजे बिएण्डसी अस्पताल विर्तामोड रेफर गरिएको थियो ।

उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड पु¥याइएकामा घिसिङको राती ९ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । घाइते मगरको सोही अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थापाले जानकारी दिनुभयो । मोटरसाइकललाई ठक्कर दिने ट्याङ्कर र ट्याङ्करका चालक झापाको सुरुङ्गाका ३३ वर्षीय निमा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्