‘आवश्यकता पहिचान गरेर विकासका काम अघि बढाइन्छ’



फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले आवश्यकता पहिचान गरेर विकास र सुधारका कामलाई अघि बढाउने तयारी गरेको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वृजहाङ आङदेम्बेले गाउँपालिका भित्रका आम विषयहरुको अध्ययन गरेर विकास र सुधारका कामलाई अघि बढाइने वताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाले हालै फाल्गुनन्द गाउँपालिकाको कार्यालय घुर्बिसेपञ्चमीमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुसँगको छलफल तथा सामूहिक रिपोर्टिङका क्रममा पत्रकारहरुका सुझाव लिएपछि अध्यक्ष आङदेम्बेले विकास, सुशासन र समृद्धिका लागि आवश्यकता पहिचान गरेर गाउँपालिकाका कामलाई अगाडि बढाई स्थानीयस्तरका अभावहरुको पूर्ति गरिने वताउनुभयो । कृषि उपज उत्पादनमा कहलिएको फाल्गुनन्दमा पकेट क्षेत्रहरुको निर्माण गरी कृषि उपज उत्पादन र बजारीकरणमा सहयोग गर्ने नीति लिइने उहाँको भनाई थियो ।

गाउँपालिकाभित्रका सडकहरु अझैपनि समस्याग्रस्त रहेको भन्दै अध्यक्ष आङदेम्बेले सात वटै वडादेखि गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडकहरुलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन स्तरोन्नतिको काम थालिने जानकारी दिनुभयो । “गाउँपालिकाभित्रका अन्य मुख्य सडकहरु स्तरोन्नति गर्ने काम थाल्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो । फाल्गुनन्द हुँदै अघि बढ्ने राँके–रबि–भेडेटार सडक निर्माण कार्यलाई द्रूत बनाउन स्थानीय तहहरुले सहकार्य गरी सामूहिक पहल गर्ने अध्यक्ष आङदेम्बेले वताउनुभयो ।

विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन अनुगमनको कार्यलाई प्राथमिकता दिने र पुँजीगत खर्च बढाउन स्थानीय स्तरमा उत्पन्न हुने समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष आङदेम्बेको भनाई छ । कतिपय विकास योजनामा स–साना विवाद आउनेवित्तिकै निर्माण कार्य प्रभावित भई बजेट खर्च हुन नसकेको पाएको भन्दै उहाँले अघि बढेका सबै योजनालाई पूरा गर्ने लक्ष्यका साथ अगाडि बढ्ने वताउनुभयो ।

सञ्चार माध्यमले फाल्गुनन्द गाउँपालिकाभित्रका कृषि, उद्योग, पर्यटन लगायत क्षेत्रका सम्भावनाको खोजी र पहिचानका लागि सहयोग गर्नुपर्ने वताउँदै अध्यक्ष आङदेम्बेले सुशासन कायम गर्न सञ्चार माध्यमबाट सकारात्मक सुझाव र खवरदारी आवश्यक रहेको वताउनुभयो । उहाँले गाउँपालिकाभित्र रहेका सिलौटी, सेहोनाम्लाङ, नाम्सामी केसामी, नाम्तोक लगायत पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन कायम गर्न सञ्चार माध्यमको सहयोग आवश्यक रहेको वताउनुभयो । छलफलमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले सञ्चार माध्यम र पत्रकारहरुले सुशासन, विकास र समृद्धिका लागि सधैँ खवरदारी गर्ने भन्दै स्थानीय सञ्चार माध्यमहरुको सवलिकरण तथा पत्रकारहरुको ब्यवसायिक हित हुने योजनाहरु समेत सञ्चालन गर्न गाउँपालिकालाई आग्रह गर्नुभयो । छलफलमा जिल्लामा क्रियाशील पत्रकारहरुले समानुपातिक रुपमा सूचना तथा विज्ञापनको वितरण गर्न, स्थानीय सञ्चार माध्यमको सम्वद्र्धनमा लाग्न, कृषि उपज, लघु तथा घरेलु उद्योगको विकासमार्फत रोजगारी सिर्जनामा लाग्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्