फिदिम नगर कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी



फिदिम । फिदिम नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली काँग्रेस सहितको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

आज सम्पन्न भएको दलित वा अल्पसङ्ख्यक नगर कार्यपालिका सदस्य पदको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । नगर कार्यपालिका सदस्य पदमा काँग्रेसका निरबहादुर विश्वकर्मा ५४ मत, माओवादी केन्द्रका डिल्लीराम विश्वकर्मा ५१ मत र माओवादी केन्द्रकै नरेन्द्र कामी ४५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । स्वतन्त्र उम्मेदवार उमेशकुमार नेपालीले २५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमले जनाएको छ ।

फिदिम नगर कार्यपालिकाका पाँच जना महिला सदस्य पदमा भने गठबन्धनका उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् । महिला कार्यपालिका सदस्यहरुमा काँग्रेसका कामना राई, शारदादेवी पोखरेल, सुस्मिता रम्तेल र सीमा तुम्बापो तथा माओवादी केन्द्रका सीता गिरी बर्देवा निर्बिरोध निर्वाचित हुनुभएको हो । फिदिम नगर कार्यपालिकामा गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ ।

२४ सदस्यीय फिदिम नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख, १४ जना वडाध्यक्ष र आठ जना सदस्य निर्वाचित हुने ब्यवस्था छ । फिदिम नगर कार्यपालिकामा एक स्वतन्त्र वडाध्यक्ष, दुई जना राप्रपाका वडाध्यक्ष र चार जना एमालेका वडाध्यक्ष बाहेक सबै गठबन्धनले प्रतिनिधित्व गरेको छ ।

प्रतिक्रिया दिनुहोस्