कुम्मायक गाउँ कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी



फिदिम । कुम्मायक गाउँ कार्यपालिकाको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

आज सम्पन्न निर्वाचनमा चार जना महिला गाउँ कार्यपालिका सदस्य तथा दुई जना दलित वा अल्पसङ्ख्यक गाउँ कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी भएका हुन् । महिला सदस्यमा एमालेका इन्द्रसरी विश्वकर्मा, गंगादेवी बोहोरा, धनमाया तामाङ र वेदमाया चापागाईं समान १५ मत प्राप्त गर्दै विजयी हुनुभयो । महिला सदस्य पदमा जनता समाजवादी पार्टीका इन्द्रकला लावती र मनकुमारी शेर्मा तथा नेकपा (एकीकृत समाजवादी)का दिलमाया नेम्वाङ र सञ्चमाया गजमेर कामीले समान १२ मत प्राप्त गर्नुभयो ।

यस्तै दलित वा अल्पसङ्ख्यक सदस्य पदमा एमालेकै डीकबहादुर दर्जी र लक्ष्मी नेपाली विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय कुम्मायकले जनाएको छ । दर्जीले १६ मत र नेपालीले १५ मत प्राप्त गर्नुभएको छ । यस्तै दलित वा अल्पसङ्ख्यक सदस्यमा नेकपा (माओवादी केन्द्र)का कल्पना नेपालीले १२ मत तथा जनता समाजवादी पार्टीका भवानीविक्रम विश्वकर्मा शंकरले ११ मत प्राप्त गर्नुभएको छ ।

गाउँ कार्यपालिका सदस्य निर्वाचनमा सबै पदस्य विजयी भएपछि कुम्मायक गाउँ कार्यपालिकामा एमालेले एकल बहुमत प्राप्त गरेको छ । १३ सदस्यीय गाउँ कार्यपालिकामा एमालेका तीन जना वडाध्यक्ष र छ जना सदस्य गरी नौ जना सदस्य रहने भएका छन् । नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्ष, माओवादी केन्द्रबाट उपाध्यक्ष, जसपाबाट वडा नं. १ को वडाध्यक्ष र एकीकृत समाजवादीबाट वडा नं. २ को वडाध्यक्ष गाउँ कार्यपालिकाको सदस्य रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्