जनप्रतिनिधिले मागे पूर्वाधार, आयआर्जन र पर्यटन विकासमा बढी बजेट



फिदिम । पाँचथरका नवनिर्वाचित जनप्रतिनिधिहरुले पूर्वाधार निर्माण, आजआर्जन र पर्यटन विकासका क्षेत्रमा बढी बजेट प्राप्त हुनुपर्ने माग गरेका छन् ।

अत्यावाश्यक देखिएका पूर्वाधार विकासका कार्य सम्पन्न गर्दै स्थानीयवासीको आयआर्जन वृद्धि गर्न तथा पर्यटनमार्फत रोजगारी सिर्जना र समुदायको आर्थिक स्तर सुधारका लागि ती क्षेत्रमा बढी लगानी आवश्यक रहेको जनप्रतिनिधिहरुको भनाई छ । प्रदेश नं. १ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तर्जुमाका विषयमा यहाँ आयोजना गरेको छलफलका क्रममा पाँचथरका आठ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले पूर्वाधार निर्माण, आजआर्जन र पर्यटन विकासका क्षेत्रमा प्रदेश सरकारले लगानी बढाउनु पर्नेमा जोड दिनुभएको हो ।

नवनिर्वाचित जनप्रतिनिधिहरुले छ गाउँपालिकाका केन्द्रलाई कालोपत्रे सडकले सदरमुकामसँग जोड्ने आयोजना अगाडि बढाउन तथा मुख्य सडकहरुको स्तरोन्नति र कालोपत्रेका लागि बजेटको प्रवन्ध हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारबाट निर्माणाधीन सडकहरु बजेट अभावका कारण पूरा हुन नसक्दा समस्या भोग्नु परेको, निर्माण थालिएका कोरिडोर सडकहरु अलपत्र भएको, प्रदेश सरकार मातहतका संरचनाहरु अझैसम्म ब्यवस्थित हुन नसकेको गुनासो गर्नुभयो ।

जिल्लाको फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधिहरुले राँके–रबि–भेडेटार सडक निर्माण कार्यमा भएको ढिलाइ समाधानका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने माग गर्नुभयो । उहाँहरुले फिदिम नगरपालिका सहित फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई समेट्दै निर्माण थालिएको फाल्गुनन्द सर्किट पर्यटकीय मार्गलाई पाँचथरको पर्यटकीय गन्तब्यको पहिचानका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले प्रसिद्ध पर्यटकीय क्षेत्र तिम्बु पोखरी लक्षित सडक तथा पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो ।

फिदिम सहित हिलिहाङ, कुम्मायक र याङवरक गाउँपालिकाका जनप्रतिनिधिहरुले मध्यपहाडी लोकमार्ग तथा तमोर कोरिडोर लक्षित कृषि उपज उत्पादनमा विशेष कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधिहरुले सुक्खा प्रभावित कुम्मायक, तुम्बेवा तथा हिलिहाङ गाउँपालिकाका लागि विशेष कार्यक्रमहरु सञ्चालन हुनुपर्ने, कृषि उपजको भण्डारणका लागि चिस्यान केन्द्र निर्माणमा सहयोग गरिनु पर्ने, कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि पहल गरिनुपर्ने, स्वदेशमा उत्पादन हुनसक्ने कृषि उपजका सवालमा आयातमा कडाई गरिनु पर्ने जस्ता माग गर्नुभयो ।

जिल्लाको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार शेर्माले गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाका कारण भएको क्षतिको पुनर्निर्माणमा उपल्ला सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो । “सयौं मानिस घरवारविहीन हुनुहुन्छ । घरबार, खेतीबाली, कृषि उपज लगायतमा भएको क्षति गणना गरिसाध्य छैन्”, शेर्माले भन्नुभयो, “बाढी र पहिरोका कारण क्षतिग्रस्त सडक, विद्युत, खानेपानी, सिंचाई लगायत संरचनाको पुनर्निर्माण अत्यावाश्यक भएपनि बजेट प्राप्त भएको छैन् ।”

फिदिम नगरपालिकाका जनप्रतिनिधिहरुले फिदिम स्थित जिल्ला अस्पतालको स्तरोन्नति, दक्ष चिकित्सक तथा उपकरणको प्रवन्ध गर्नुपर्ने माग गर्नुभयो । सामान्य रोगको उपचारका लागि समेत तराईका जिल्ला पुग्नुपर्ने बाध्यता हटाउन प्रदेश सरकारले प¥याप्त लगानी गर्नुपर्ने उहाँहरुको माग छ ।

यस्तै जनप्रतिनिधिहरुले पाँचथरमा निर्माण गर्ने भनिएको वहुप्राविधिक शिक्षालयको काम अलपत्र परेको भन्दै प्राविधिक शिक्षा विस्तारमा बजेटको ब्यवस्था गर्न माग गर्नुभयो । कतिपय जनप्रतिनिधिहरुले प्रदेश सरकारले स–साना योजनाहरुमा समेत लगानी गरेको तर प्राथमिकताका योजनालाई वेवास्ता गरेको, योजनामा तीन तहका सरकारबाट बजेट दोहोरिने समस्या देखिएको वताउनुभयो ।

छलफलपछि प्रदेश सरकारको पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले जनप्रतिनिधिहरुका माग तथा आवश्यकताका आधारमा आगामी वर्षको बजेट तयार पारिने वताउनुभयो । उहाँले विगतबाट थालिएका योजनाहरुको पूर्णता तथा आवश्यकताका आधारमा नयाँ योजना छनौट गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सवल बनाउने तथा आयआर्जनमा बढावा दिने कार्यक्रममा बजेट लक्षित हुने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्