पाँचथरमा एक अध्यक्ष र एक उपाध्यक्ष मात्रै दोश्रो कार्यकालका लागि दोहोरिए



फिदिम । जिल्लामा एक जना गाउँपालिका अध्यक्ष र एक जना उपाध्यक्ष मात्रै दोश्रो कार्यकालका लागि विजयी भएका छन् ।

जिल्लामा तीन जना गाउँपालिका अध्यक्ष र दुई जना उपाध्यक्ष गरी पाँच जना दोश्रो कार्यकालका लागि उम्मेदवार बनेका थिए । तर पाँच जनामध्ये दुई जना मात्रै दोश्रो कार्यकालका लागि विजयी भएका हुन् । यसरी दोश्रो कार्यकालका लागि विजयी हुने जनप्रतिनिधिमा पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम र हिलिहाङ गाउँपालिकाकी उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईं हुनुहुन्छ । अध्यक्ष माखिम नेकपा (माओवादी केन्द्र) र सेढाईं नेकपा (एमाले)बाट उम्मेदवार भई विजयी हुनुभएको हो ।

जिल्लामा हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेन र उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईं, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, कुम्मायक गाउँपालिकाका उपाध्यक्ष सीता आचार्य, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम पुनः सोहि पदमा उम्मेदवार बन्नुभएको थियो । तर माखिम र सेढाईं मात्रै दोश्रो कार्यकालका लागि विजयी हुनुभएको हो ।

मिक्लाजुङ अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार माखिम ६०६५ मत सहित विजयी हुँदा एमालेका नरेन्द्रकुमार बस्नेतले ४०२६ मत प्राप्त गर्नुभयो । अघिल्लो कार्यकालमा माखिमले ४६६ मतको अन्तरले एमालेका धनकुमार फियाकलाई पराजित गर्नुभएको थियो । हिलिहाङकी उपाध्यक्ष सेढाईं ४१४६ मत सहित विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको नेकपा (एकीकृत समाजवादी)का भवानीप्रसाद लिङदेनले ४११८ मत प्राप्त गर्नुभयो । अघिल्लो कार्यकालमा लागि सेढाईं १०३६ मत अन्तरले काँग्रेसकी तारा योङहाङलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । पाँचथरमा केही वडाध्यक्षहरु समेत दोश्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्