तीन दिन पछि विवाह हुन लागेका सन्तकुमार र उनका बाबुको हत्या



लहान । सिरहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो ।

सन्त कुमारको यही जेठ ११ गते विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर करिब १२ बजे सुतेपछि दुबैको हत्या भएको स्थानीयवासीले बताएका छन् । उनीहरुका अनुसार राति करिब १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख करिब ३ बजे हत्याको घटना गाउँभरी फैलिसकेको हुनाले करिब २ बजेको आसपासमा सो घटना भएको हुनसक्छ ।    
    
घटनाको जानकारी पाएलगतै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । “घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौं”,प्रहरी उहाँले भन्नुभयो,“हत्या कसले र किन गरेको भन्नेबारेमा केही खुल्न सकेको छैन्, हामीले अनुसन्धान गरिरहेका छौं।” प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्