याङवरकमा गठबन्धनलाई पराजित गर्दै एमालेका योङ्या र मेयाङ्बो विजयी



फिदिम । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । छ वटा वडा रहेको याङवरकमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले अध्यक्ष, उपाध्यक्ष सहित तीन वटा वडामा विजय हाँसिल गरेको हो ।

अध्यक्ष पदमा एमालेका भिम बहादुर योङयाले चार हजार ११८ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनको नेपाली काँग्रेसका मविन्द्र योङयाले चार हजार ३८ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुरेन्द्र लावतीले १८५ मत प्राप्त गर्नुभयो ।

याङवरकको उपाध्यक्षमा एमालेकै बाबा मेयाङ्बो विजयी हुनुभएको छ । मेयाङ्बो तीन हजार ९९८ मत सहित विजयी हुँदा गठबन्धनको माओवादी केन्द्रका अर्जुन बेघा तीन हजार ६७९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रमला फेदाप तेयुङले २०५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय याङवरकले जनाएको छ । याङवरको वडा नं. १, ३, ५ मा एमाले तथा २, ४, ६ मा गठबन्धनका वडाध्यक्ष निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्