फिदिममा गठबन्धनका काफ्ले र न्यौपाने विजयी



फिदिम । पाँचथरको फिदिम नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेससहितको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । फिदिम नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का राधाकृष्ण न्यौपाने विजयी हुनुभएको हो ।

आज साँझ सम्पन्न मतगणनाअनुसार नगर प्रमुख पदमा काफ्ले नौ हजार ८५५ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँले प्रतिद्वन्द्वी नेकपा (एमाले)का पृथ्वी लावतीलाई ५७५ मतले पराजित गर्नुभएको हो । नगर प्रमुख पदमा लावतीले नौ हजार २८० मत प्राप्त गर्नुभएको छ । नगर प्रमुख पदमा मंगोल नेशनल अर्गनाइजेसनका हरिचन्द्र नेम्वाङले २८८, जनता समाजवादी पार्टीका विष्णुकुमार लावतीले २७४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउकुमार नेम्वाङले ७७ मत र राष्ट्रिय जनमुक्ति पार्टीका सनम तुम्बापोले २६ मत प्राप्त गर्नुभयो ।

यस्तै नगर उपप्रमुख पदमा गठबन्धनको नेकपा (माओवादी केन्द्र)का राधाकृष्ण न्यौपाने नौ हजार ३६ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद थापा मगरले पाँच हजार ६४३ मत प्राप्त गर्नुभयो । नगर उपप्रमुख पदमा जनता समाजवादी पार्टीकी भावना सुब्बाले ५३५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुनिता केरुङले १९५ र नेकपा (माले)की पुण्यमाता घिमिरेले ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फिदिम नगरपालिकामा काँग्रेस र एमालेबाट समान चार/चार जना वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेबाट वडा नं. १ मा गजाधर भट्टराई, वडा नं. २ मा दिननाथ अधिकारी, वडा नं. ११ मा राजेन्द्रकुमार थापा र वडा नं. १२ मा कमलप्रसाद चापागाँई वडाध्यक्ष निर्वाचित हुनुभएको छ । यस्तै काँग्रेसबाट वडा नं. ३ मा नरेन्द्र गुरुङ, वडा नं. ५ मा भरत तुम्बापो, वडा नं. ७ मा रुपेन्द्र तामाङ र वडा नं. ९ मा गंगाप्रसाद राई वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्रका तर्फबाट वडा नं. ८ मा सोमबहादुर गुरुङ, वडा नं. १३ मा दिलकुमार नेम्वाङ र वडा नं. १४ मा राजकुमार नेम्वाङ वडाध्यक्ष विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नं. ४ मा उपेन्द्र लावती तथा वडा नं. १० मा ओमराज थाम्सुहाङ वडाध्यक्ष विजयी हुनुभएको छ भने वडा नं. ६ मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार विपन तुम्रोक वडाध्यक्ष चुनिनुभएको छ ।

स्थानीय तहको निर्वाचन २०७४ मा फिदिम नगरपालिकामा काँग्रेस पहिलो, एमाले दोश्रो र माओवादी केन्द्र तेश्रो दल बनेका थिए । सो समय काँग्रेसले नगर प्रमुख, उपप्रमुख सहित नौ जना वडाध्यक्ष जितेको थियो । तर यस पटक गठबन्धनका कारण काँग्रेसले नगर प्रमुख र चार जना वडाध्यक्ष मात्रै जितेको छ । अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले प्राप्त गरेको मत एमालेको भन्दा झण्डै पाँच हजार बढी रहेपनि राप्रपासँगको तालमेलमा एमालेले प्रतिस्पर्धात्मक मत प्राप्त गरेको छ । पाँचथरमा फिदिम एकमात्रै नगरपालिका हो ।

प्रतिक्रिया दिनुहोस्