मन्त्री आङ्बोको वडामा गठबन्धनका उम्मेदवार तेश्रो, वडाध्यक्षमा एमाले विजयी



फिदिम । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज इन्द्रबहादुर आङ्बोको वडामा गठबन्धनका वडाध्यक्षका उम्मेद्वारले तेश्रो मत पाएका छन् ।

मन्त्री आङ्बोले समेत मतदान गरेको फिदिम नगरपालिका वडा नं. ११ मा नेकपा (एमाले)ले वडाध्यक्षमा विजय हाँसिल गर्दा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलका उम्मेदवारले तेश्रो मत हाँसिल गरेका हुन् । फिदिम–११ मा एमालेका उम्मेदवार राजेन्द्रकुमार थापा ५ सय ९८ मत प्राप्त गर्दै वडाध्यक्ष विजयी हुनुभयो । थापाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार चित्रबहादुर सुब्बा मेयोङ्वाले ४ सय ४३ मत प्राप्त गर्नुभयो ।

गठबन्धनका उम्मेदवार काँग्रेसका श्रीप्रसाद घिमिरेले भने ३ सय ९० मत प्राप्त गर्दै तेश्रो स्थानमा रहनुभयो । घिमिरे निवर्तमान वडाध्यक्ष समेत हुनुहुन्छ । उक्त वडाको गत स्थानीय तह निर्वाचनको परिणामअनुसार काँग्रेस र माओवादी एमालेभन्दा झण्डै ३०० मतले अघि थिए । उक्त वडाबाट एमालेका केही कार्यकर्ता एकीकृत समाजवादीमा समेत लागेका थिए ।

वडाध्यक्ष सहित एमालेबाट सदस्यहरु गंगाकुमारी आङ्बो र अर्पना विश्वकर्मा विजयी हुनुभएको छ भने गठबन्धनबाट समेत दुई जना सदस्य विजयी भएका छन् । वडा सदस्यहरुमा गठबन्धनबाट मन्त्री आङ्बोका दाइ यामकुमार आङ्बो र मानबहादुर जबेगू विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्