फाल्गुनन्दमा गठबन्धनका आङदेम्बे र नेम्वाङ विजयी



फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नेपाली काँग्रेस सहितको गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

गाउँपालिकाको अध्यक्ष काँग्रेसका वृजहाङ आङदेम्बे र उपाध्यक्षमा माओवादी केन्द्रका ठाकुरसिं नेम्वाङ विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा आङदेम्बेले निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनुभएका एमालेका वीरबहादुर कुरुम्बाङलाई एक हजार ९६ मतान्तरले पराजित गर्नुभयो । आङदेम्बेले पाँच हजार ७३९ मत प्राप्त गर्दा कुरुम्बाङले चार हजार ६४३ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका ठाकुरसिं नेम्वाङले जनता समाजवादी पार्टीकी बविता नेम्वाङलाई छ सय ५७ मतको अन्तरले पराजित गर्नुभयो । ठाकुरसिंले पाँच हजार १०० मत प्राप्त गर्दा एमालेसँगको तालमेलमा उम्मेद्वार बनेकी बविताले चार हजार ४४३ मत प्राप्त गर्नुभयो । फाल्गुनन्दका सात वटा वडामध्ये छ वटामा गठबन्धन र एउटामा एमाले विजयी भएको छ ।

फाल्गुनन्दको वडा नं. १ मा होमप्रसाद आङदेम्बे, वडा नं. २ मा सन्तोष नेम्वाङ, वडा नं. ३ मा सुखवीर नेम्वाङ, वडा नं. ४ मा दलबहादुर नेम्वाङ, वडा नं. ५ मा विष्णुकुमार चेम्जोङ, वडा नं. ६ मा नारायणप्रसाद आङदेम्बे र वडा नं. ७ मा देउकुमार आङदेम्बे वडाध्यक्ष निर्वाचित हुनुभएको हो । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र पाँच जना वडाध्यक्ष काँग्रेसले जितेको थियो ।

तर निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि यहाँ उपनिर्वाचन हुँदा अध्यक्षमा तत्कालीन नेकपामा कुरुम्बाङ ८०६ मतले विजयी हुनुभएको थियो । तर यस पटक गठबन्धनले एक वडामा बाहेक सबै पदमा विजय हाँसिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्