एमालेको बलमा स्थानीय सत्तामा राप्रपा



फिदिम । अघिल्लो स्थानीय तहको निर्वाचनमा कुनै पनि कार्यकारी जिम्मेवारीमा निर्वाचित हुन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यस पटक पाँचथरमा दुई जना वडाध्यक्ष जितेको छ ।

पाँचथरको फिदिम नगरपालिकामा स्थानीय सरकारका लागि नेकपा (एमाले)सँग सहकार्य गरेको राप्रपाले एमालेकै बलमा दुई वडाध्यक्ष र केही सदस्य जितेको हो । राप्रपाले एमालेसँग तालमेल गरी फिदिम नगरपालिकाको उपप्रमुखमा प्रतिस्पर्धा गरिरहेको छ । राप्रपाले हालसम्म फिदिममा दुई वटा वडाध्यक्ष जितेको छ ।

राप्रपाबाट फिदिम नगरपालिका–४ को वडाध्यक्षमा उपेन्द्र लावती र फिदिम नगरपालिका–१० को वडाध्यक्षमा ओमराज थाम्सुहाङ विजयी हुनुभएको हो । फिदिम–४ को वडाध्यक्षका लावतीले काँग्रेस सहितको गठबन्धनका प्रकाश गुरुङलाई ४३ मतको अन्तरले पराजित गर्नुभयो । लावतीले ७६५ मत प्राप्त गर्दा गुरुङले ७२२ मत प्राप्त गर्नुभयो । उक्त वडामा कूल एक हजार ६१८ मत खसेको थियो ।

लावती र गुरुङवीच वडाध्यक्षमा दोश्रो पटक प्रतिस्पर्धा भएको हो । अघिल्लो निर्वाचनमा काँग्रेस, एमाले र राप्रपा एक्लाएक्लै प्रतिस्पर्धामा उत्रँदा गुरुङ वडाध्यक्ष चुनिनुभएको थियो भने लावतीले तेश्रो मत प्राप्त गर्नुभएको थियो । तर यस पटक एमालेको साथले लावती वडाध्यक्ष निर्वाचित हुनुभएको हो । वडाध्यक्षमा पराजित गुरुङ नेपाली काँग्रेसको फिदिम नगर कार्यसमितिको सभापति समेत हुनुहुन्छ । खेलकुद र सामाजिक/साँस्कृतिक क्षेत्रमा क्रियाशील लावती राप्रपामा निरन्तर क्रियाशील नेता हुनुहुन्छ ।

यस्तै स्थानीय स्तरका बेथितिलाई खरो रुपमा उठाउने राप्रपाका नेता ओमराज थाम्सुहाङ फिदिम–१० को वडाध्यक्ष निर्वाचित हुनुभएको छ । काँग्रेसको गढ मानिने फिदिम–१० मा थाम्सुहाङले आश्चार्यजनक नतिजा निकाल्नुभएको हो । अघिल्लो निर्वाचनमा उक्त वडामा काँग्रेस विजयी हुँदा माओवादी केन्द्र दोश्रो बनेको थियो । सो समय पनि वडाध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका थाम्सुहाङ तेश्रो बन्नुभएको थियो ।

अघिल्लो निर्वाचनको तेश्रो शक्ति राप्रपा र चौथो शक्ति एमालेले यस पटक तालमेल गरी प्रतिस्पर्धा गर्दा तालमेल गरेका पहिलो र दोश्रो शक्तिलाई पराजित गरेका हुन् । थाम्सुहाङले निवर्तमान वडाध्यक्ष वीरहाङ्मा थाम्सुहाङलाई ५८ मतको अन्तरले पराजित गर्नुभयो । होमराजले ६१९ मत प्राप्त गर्दा वीरहाङ्माले ५६१ मत प्राप्त गर्नुभयो । फिदिम–१० काँग्रेसका पाँचथर सभापति रुपनारायण जबेगूको वडा समेत हो ।

एमालेको साथले राप्रपा फिदिम नगरका दुई वडामा कार्यकारी जिम्मेवारीमा पुगेको छ । फिदिम नगर उपप्रमुखमा एमालेसँगको तालमेलमा उम्मेदवार रहनुभएका राप्रपाका जिल्ला अध्यक्ष जगत थापा मगरले समेत प्रतिस्पर्धात्मक मत प्राप्त गरिरहनु भएको छ । फिदिमको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्