पाँचथरमा पाँच स्थानीय तहमा मतगणना सुरु



फिदिम । पाँचथरका पाँच वटा स्थानीय तहमा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतदानको मतगणना सुरु भएको छ ।

जिल्लाको फिदिम नगरपालिकामा वडा नं. १४ बाट मतगणना सुरु भएको छ । उक्त वडामा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले अग्रता लिएको छ ।

हिलिहाङ गाउँपालिकामा वडा नं. १ र २ को मतगणना सुरु भएको छ । यहाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार अगाडि देखिएका छन् । वडा नं. १ को वडाध्यक्षमा गठबन्धनका तथा वडा नं. २ को वडाध्यक्षमा एमालेका उम्मेद्वार अगाडि छन् ।

जिल्लाको कुम्मायक गाउँपालिकामा वडा नं. १ बाट मतगणना सुरु भएको छ । कुम्मायकमा पनि गठबन्धन अगाडि देखिएको छ । उक्त वडाको वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार टंकबहादुर पौडेलले प्रतिस्पर्धात्मक मत प्राप्त गरिरहेका छन् ।

जिल्लाको फालेलुङ गाउँपालिकामा वडा नं. ६ बाट मतगणना सुरु भएको छ । यहाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) तथा वडाध्यक्षमा गठबन्धनका उम्मेद्वार अगाडि छन् । यस्तै जिल्लाको तुम्बेवा गाउँपालिकामा वडा नं. १ बाटै मतगणना सुरु भएको छ । यहाँ गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेद्वार अगाडि छन् ।

जिल्लाको याङवरक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा आज मात्रै मतगणना सुरु हुन लागेको छ । यहाँ आज उम्मेद्वारका प्रतिनिधि सामेल बैठक आयोजना गरिएको छ । हिँजो सम्पन्न निर्वाचनमा पाँचथरमा ६० प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्