गठबन्धनबाट एकीकृत समाजवादीले पाएको वडामा काँग्रेसका बागी वडाध्यक्षमा विजयी



फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै नेपाली काँग्रेसका बागी उम्मेद्वारहरुले वडाध्यक्ष सहित तीन जना सदस्य पदमा विजय हाँसिल गरेका छन् ।

फालेलुङ–१ को वडाध्यक्षमा काँग्रेसका बागी उम्मेद्वार टेकबहादुर गुरागाँई ३९५ मत प्राप्त गर्दै वडाध्यक्ष विजयी हुनुभएका हो । यहाँ गठबन्धनको एकीकृत समाजवादीका श्रीप्रसाद जबेगूले कलम चिन्हमा ३१९ मत प्राप्त गर्नुभएको छ । जबेगू निवर्तमान वडाध्यक्ष समेत हुनुहुन्छ । यो वडा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमलप्रसाद जबेगूको वडा हो ।

उक्त वडाको वडाध्यक्षमा नेकपा (एमाले)ले २३१ मत र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १६ मत पाएका छन् । वडाध्यक्षमा ९२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय फालेलुङले जनाएको छ ।

दुई खुल्ला वडा सदस्य पदमा काँग्रेसकै बागी उम्मेद्वारहरु खड्गप्रसाद यवा र राजकुमार मेघक तथा दलित महिला वडा सदस्यमा रिता सुनाम दर्जी विजयी हुनुभएको छ । यस वडाको महिला सदस्य पदमा भने गठबन्धनको एकीकृत समाजवादीकी रेनुका आङ्बो विजयी हुनुभएको छ ।

उक्त वडाबाट गाउँपालिका अध्यक्षमा एमालेले २५० मत, गठबन्धनको काँग्रेसले ५५७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४३ मत र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १४ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा एमालेले २७१ मत, गठबन्धनको माओवादी केन्द्रले ४४० मत र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा बदर २६३ मत बदर भएको छ । उक्त वडामा कूल १०४५ मत झरेको थियो ।

बागीका रुपमा उम्मेद्वार बनेर विजयी बनेका सबै काँग्रेसका कार्यकर्ता हुन् । फालेलुङमा गठबन्धन भित्रबाट एकीकृत समाजवादीले एक वडाध्यक्ष पाएको थियो । तर सो पदमा समेत काँग्रेसका बागी विजयी भएका हुन् । बागी उम्मेद्वार बनेका पाँचै जनाले गुलावको फूल चुनाव चिन्ह पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्