पाँचथरमा ६० प्रतिशत मत खस्यो



फिदिम । आज सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँचथरमा करीब ६० प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख कुमारप्रसाद भट्टराईका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा गरी करीब ६० प्रतिशत मत खसेको हो । जिल्लाका केही स्थानीय तहमा खसेको मतको परिणाम प्राप्त हुन बाँकी रहेकाले संख्या यकिन नभएको भट्टराईको भनाई छ ।

मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थलमा सङ्कलन गर्ने कार्य चलिरहेको भट्टराईले जानकारी दिनुभयो । मतपेटिका सङ्कलनको कार्य सम्पन्न भएपछि उम्मेद्वारका प्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ । “आजै छलफल हुन्छ । तर मतगणना सम्भवत भोलि विहानबाट सुरु हुन्छ”, भट्टराईले भन्नुभयो, “सहज हुने स्थानमा आजैबाट हुन पनि सक्ला ।”

पाँचथरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । तर वर्षाका कारण जिल्लाको मिक्लाजुङ, फाल्गुनन्द, फिदिम, फालेलुङ लगायत स्थानीय तहका कतिपय मतदान स्थलमा मतदान कार्य प्रभावित भएको छ । आठ वटा स्थानीय तह र ६० वटा वडा रहेको पाँचथरमा कूल ११६ पदका लागि निर्वाचन सम्पन्न भएको हो । पाँचथरमा कूल १ लाख २० हजार २२४ जना मतदाता छन् । मतदानका लागि जिल्लामा १०१ मतदान स्थलमा १७६ मतदान केन्द्रको ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्