गठबन्धनद्वारा महिलालाई उपेक्षा, मुख्य पदमा उम्मेद्वारी शून्य



फिदिम । पाँचथरमा सत्तारुढ गठबन्धनले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा एक जना पनि महिलालाई बनाएको छैन् । आठ स्थानीय तह रहेको पाँचथरमा नेकपा (एमाले)ले भने सात गाउँपालिकाका उपाध्यक्ष पदका लागि महिलालाई उम्मेद्वार बनाएको छ ।

पाँचथरको फिदिम नगरपालिकामा सत्तारुढ गठबन्धन तथा एमाले नेतृत्वको गठबन्धन दुवैले नगर प्रमुख तथा उपप्रमुख पदमा पुरुष उम्मेद्वार बनाएका छन् । यहाँ एमाले नेतृत्वमा जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी तालमेल गरेका छन् । यो गठबन्धन फिदिम नगरपालिकाको प्रमुखमा पृथ्वी लावती तथा उपप्रमुखमा जगत थापा मगरलाई उम्मेद्वार बनाएको छ ।

सत्तारुढ गठबन्धनका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले फिदिम नगरको प्रमुखमा मित्रप्रसाद काफ्ले र उपप्रमुखमा राधाकृष्ण न्यौपानेलाई उम्मेद्वार बनाएका छन् । मुख्य प्रतिस्पर्धी दुई पक्षले मुख्य पदमा पुरुषलाई मात्रै उम्मेद्वार बनाएको भएपनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सुनिता केरुङ, नेकपा (माले)ले पुण्यमाता घिमिरे र जसपाको एक पक्षले भावना इङ्वालाई उम्मेद्वार बनाएका छन् ।

बाँकी सात वटै गाउँपालिकामा सत्तारुढ गठबन्धनले दुवै पदमा पुरुष उम्मेद्वार बनाएको छ । महिला प्रतिनिधित्वको संवैधानिक अधिकार कुण्ठित गर्न नहुने वहस चलिरहँदा गठबन्धनले मुख्य पदमा कहिँ पनि महिलालाई नसमेटेको हो । जिल्लाका कतिपय स्थानीय तहमा जसपा, राप्रपा र राप्रपा नेपालसँग तालमेल गरेको एमालेले भने बाँकी सबै गाउँपालिकाको उपाध्यक्षमा महिलालाई उम्मेद्वार बनाएको छ । तर उक्त पक्षले पनि गाउँपालिका प्रमुखमा भने महिलालाई स्थान दिएको छैन् ।

जिल्लाको याङवरक गाउँपालिकामा सत्तारुढ गठबन्धनले अध्यक्षमा मविन्द्र योङया र उपाध्यक्षमा अर्जुन बेघालाई उम्मेद्वार बनाउँदा एमाले र जसपाले अध्यक्षमा सुवास योङया र उपाध्यक्षमा बाबा मेन्याङ्बोलाई उम्मेद्वार बनाएका छन् ।

हिलिहाङ गाउँपालिकामा एमालेबाट अध्यक्षमा भुवानीप्रसाद लिङदेन र उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईं उम्मेद्वार हुनुहुन्छ भने गठबन्धनबाट समरबहादुर अधिकारी अध्यक्ष तथा भवानीप्रसाद लिङदेन उपाध्यक्ष पदका उम्मेद्वार हुनुहुन्छ ।

फालेलुङ गाउँपालिकामा गठबन्धनबाट वीरविक्रम थाम्सुहाङ अध्यक्ष तथा महेन्द्रहाङ जबेगू उपाध्यक्षका उम्मेद्वार रहनुभएको छ । यहाँ एमालेबाट अध्यक्षमा जयप्रकाश केरुङ र उपाध्यक्षमा सुजाता बान्तवा राई उम्मेद्वार हुनुहुन्छ ।

फाल्गुनन्द गाउँपालिकामा एमालेले जसपासँग तालमेल गरेको भएपनि अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिलालाई उम्मेद्वार रहेका छन् । यी दुई दलले अध्यक्षमा वीरबहादुर कुरुम्बाङ तथा उपाध्यक्षमा बबिता नेम्वाङलाई उम्मेद्वार बनाएका छन् । यहाँ गठबन्धनले अध्यक्षमा बृजहाङ आङदेम्बे तथा उपाध्यक्षमा ठाकुरसिंह नेम्वाङलाई उम्मेद्वार बनाएको छ ।

जिल्ला कुम्मायक गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट अध्यक्षमा बमप्रसाद लावती र उपाध्यक्षमा महेन्द्रबहादुर खड्का उम्मेद्वार हुनुहुन्छ । यहाँ एमालेले अध्यक्षमा भीमप्रसाद सम्बाहाम्फे र उपाध्यक्षमा सीता आचार्यलाई उम्मेद्वार बनाएको छ ।

जिल्लाको तुम्बेवा गाउँपालिकामा अध्यक्षमा एमालेले गोविन्दबहादुर तामाङ तथा उपाध्यक्षमा नन्द धमलालाई उम्मेद्वार बनाएको छ । एमालेले यहाँ दलित महिलालाई उपाध्यक्ष पदको उम्मेद्वार बनाएको हो । यहाँ सत्तारुढ गठबन्धनले अध्यक्षमा बाबुराम खड्का र उपाध्यक्षमा खड्गसुन्दर सम्बाहाम्फेलाई उम्मेद्वार बनाएको छ ।

जिल्लाको सुदूर दक्षिणी मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनले अध्यक्षमा अमरराज माखिम तथा उपाध्यक्षमा सन्तकुमार शेर्मालाई उम्मेद्वार बनाएको छ । यहाँ एमालेले अध्यक्षमा नरेन्द्रकुमार बस्नेत तथा उपाध्यक्षमा धनमाया सारु मगरलाई उम्मेद्वार बनाएको छ ।

स्थानीय तहको प्रथम निर्वाचनबाट फिदिम नगरपालिकाको उपप्रमुख सहित छ वटा गाउँपालिकाको उपाध्यक्षमा महिला निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचनबाट जिल्लाको तुम्बेवा गाउँपालिकामा मात्रै दुवै प्रमुख पदमा पुरुष निर्वाचित भएका थिए । अहिले विशेषत सत्तारुढ गठबन्धनमा महिलालाई मुख्य जिम्मेवारी नदिएको भन्दै महिला नेतृहरुले तीब्र असन्तुष्टि ब्यक्त गरिरहेका छन् ।

१ लाख ४० हजार २२४ जना मतदाता रहेको पाँचथरमा ६६ हजार ६४८ जना महिला मतदाता छन् । यहाँका आठ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ६० वटा वडाका वडाध्यक्ष र वडा सदस्य पदका लागि १०१ मतदान स्थलमा रहेका १७६ मतदान केन्द्रबाट मतदाताले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्