पाँचथरमा प्रमुख दलले आज मात्रै उम्मेद्वारको मनोनयन दर्ता गर्दै



फिदिम । स्थानीय तहको निर्वाचनका लागि पाँचथरका मुख्य राजनीतिक दलहरुले आज मात्रै उम्मेद्वारको मनोनयन दर्ता गर्दैछन् ।

मुख्य दलहरुवीच चुनावी तालमेल तथा उम्मेद्वारको छनौट नटुङ्गिदा उम्मेद्वारी दर्ता आज मात्रै हुन लागेको हो । प्रमुख दल नेकपा (एमाले)ले हालसम्म स्थानीय तहका उम्मेद्वार सार्वजनिक गरेको छैन् । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलहरुसँग चुनावी तालमेलका सम्भावनाहरु कायम रहँदा एमालेले आज मात्रै उम्मेद्वार टुङ्ग्याउन लागेको हो ।

एमालेले फिदिम नगरपालिका प्रमुखमा पार्टी जिल्ला कमिटीका उपसचिव पृथ्वी लावतीलाई अघि सारेको छ । एमालेले जिल्लाको हिलिहाङ र फाल्गुनन्दका अध्यक्षहरुलाई दोहो¥याउने सम्भावना छ ।

सत्तारुढ गठबन्धनका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले भागबण्डा टुङ्ग्याएका छन् । एकीकृत समाजवादी बाहेकका दुई दलले उम्मेद्वार समेत टुङ्गो लगाइसकेका छन् ।

फिदिम नगरपालिकाको प्रमुखमा यो गठबन्धनले काँग्रेसका मित्रप्रसाद काफ्लेलाई प्रमुख र माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेलाई उपप्रमुखको उम्मेद्वार बनाएको छ ।

चुनावी तालमेल र गठबन्धनका प्रयासका कारण जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा (माले) लगायत दलले समेत हिँजो मनोनयन दर्ता गराएनन् । हिँजोबाट सुरु भएको उम्मेद्वारी दर्ता आज अपरान्ह ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हिँजो पहिलो दिन पाँचथरमा विभिन्न पदमा ४५ जनाले मनोनयन दर्ता गराएका छन् । फालेलुङ गाउँपालिकामा १८ जना, फिदिम नगरपालिकामा २१ जना, मिक्लाजुङ, हिलिहाङ र फाल्गुनन्द गाउँपालिकामा एक/एक जनाले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फिदिम नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेशनल अर्गनाइजेसनले नगर प्रमुख सहितका पदमा उम्मेद्वारी दर्ता गराएका छन् । फिदिममा एक जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् भने बाँकी विभिन्न दलहरुबाट छन् ।

आठ वटा स्थानीय तह रहेको पाँचथरमा नेकपा (एमाले) र सत्तारुढ गठबन्धनवीच प्रतिस्पर्धा हुँदैछ । गठबन्धनमा देखिएको समस्याको फाइदा उठाउने दाउमा एमाले देखिन्छ ।

एमालेले रणनीतिक रुपमा उम्मेद्वार छानेको छ । गठबन्धन भने आवद्ध दलहरुको शक्तिलाई मतमा परिणत गर्ने ध्याउन्नमा छ ।

पाँचथरमा १ लाख ४० हजार २२४ जना मतदाता छन् । उनीहरुले १०१ स्थलमा रहेका १७६ मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्