काँग्रेसले टुङ्ग्यायो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वार, फिदिममा बाँकी



फिदिम । पाँचथरमा नेपाली काँग्रेसले छ वटा गाउँपालिकाको अध्यक्ष तथा एक गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार टुङ्ग्याएको छ ।

सत्तारुढ दलहरुको गठबन्धनअनुसार काँग्रेसले आफ्नो भागमा परेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको नाम टुङ्ग्याएको काँग्रेस पाँचथरका उपसचिव गजेन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार काँग्रेसले फालेलुङ गाउँपालिकाको अध्यक्षमा वीरविक्रम थाम्सुहाङलाई उम्मेद्वार बनाएको छ । थाम्सुहाङ काँग्रेस फालेलुङका सभापति एवं हाल फालेलुङ–३ का वडाध्यक्ष हुनुहुन्छ ।

यस्तै काँग्रेसले जिल्ला कार्यसमिति सदस्य समेत रहनुभएका याङवरक–३ का वडाध्यक्ष मविन्द्र योङ्यालाई याङवरक गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनाएको छ । काँग्रेसले हिलिहाङ गाउँपालिकाको अध्यक्षमा समरबहादुर अधिकारीलाई उम्मेद्वार बनाएको छ ।

सहसचिव राईका अनुसार फाल्गुनन्द गाउँपालिकाको अध्यक्षको उम्मेद्वार काँग्रेस पाँचथरका उपसभापति वृजहाङ आङदेम्बे बन्नुभएको छ । आङ्देम्बे गत उपनिर्वाचनमा पनि अध्यक्ष पदमा प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

जिल्लाको कुम्मायक गाउँपालिकाको अध्यक्षमा काँग्रेसले बमप्रसाद लावतीलाई उम्मेद्वार बनाएको छ । लावती काँग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँ यसअघि पनि अध्यक्ष पदमा प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

जिल्लाको तुम्बेवा गाउँपालिकामा काँग्रेसले बावुराम खड्कालाई अध्यक्षको उम्मेद्वार बनाएको छ । खड्का काँग्रेसको गाउँपालिका सभापति हुनुहुन्छ । यस्तै मिक्लाजुङ गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसले सन्तकुमार शेर्मालाई उम्मेद्वार बनाएको छ । काँग्रेस मिक्लाजुङका सभापति शेर्मा हाल मिक्लाजुङ–२ को वडाध्यक्ष हुनुहुन्छ ।

काँग्रेसले फिदिम नगरपालिकाको प्रमुखका लागि जिल्ला कार्यसमितिमार्फत प्रदेशमा नाम सिफारिस गरेको छ । नगर प्रमुखको उम्मेद्वार समेत आजै टुङ्गिने काँग्रेस पाँचथरका उपसचिव राईले जानकारी दिनुभयो ।

सत्तारुढ दलहरुवीच पाँचथरमा चुनावी गठबन्धन बनेको छ । जसअनुसार आठ स्थानीय तहमध्ये फिदिम नगरको प्रमुख सहित काँग्रेसले छ गाउँपालिकाको अध्यक्ष पाएको छ । नेकपा (माओवादी केन्द्र)ले मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष सहित चार गाउँपालिका उपाध्यक्ष र एक नगर प्रमुख पाएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनबाट जिल्लाको हिलिहाङ र कुम्मायक गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार पाएको छ ।

गठबन्धन भएपनि स्थानीय स्तरमा भने काँग्रेस कार्यकर्ताहरुले तीब्र असन्तुष्टि ब्यक्त गरिरहेका छन् । काँग्रेस फिदिम नगर कार्यसमितिले एक्लै निर्वाचनमा जाने बहुमतले निर्णय गरेको नगर सभापति प्रकाश गुरुङले जानकारी दिनुभयो ।

पाँचथरमा नेकपा (एमाले)ले उम्मेद्वार आजै टुङ्ग्याउन लागेको छ । एमालेले जनता समाजवादी पार्टी, राप्रपा र राप्रपा नेपालसँग चुनावी तालमेलको प्रयास जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्