कुम्मायक–कुस्सायक गोल्डकपः ताप्लेजुङ सेमिफाइनलमा प्रवेश



यासोक । केएफसी झापालाई ३–० गोलअन्तरले पराजित गर्दै खेवाङ फुटबल क्लब ताप्लेजुङ पाँचथरको यासोकमा जारी कुम्मायक–कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिशाली मेलाका अवसरमा आयोजित प्रतियोगिताअन्तर्गत मङ्गलबार पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगिताको दोश्रो खेलमा ताप्लेजुङले आकर्षक जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । ताप्लेजुङका लागि रोहन बर्देवा, सोमहाङ लिम्बू र सोनाम राईले गोल गरेका थिए ।

पाएका केही महत्वपूर्ण अवसरहरुलाई सदुपयोग गर्न नसक्दा केएफसी प्रतियोगिताबाट बाहिरिन पुगेको हो । ताप्लेजुङका सोनाम राईले खेलको म्यान अफ दी म्याच घोषित हुँदै पाँच हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको बिजेताले रु. ३ लाख ३३ हजार ३३३ तथा उपबिजेताले रु. १ लाख ६६ हजार ६६६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भोलिको खेलमा संगम फुटबल क्लब सुनसरी र केकेएफसी झापावीच प्रतिस्पर्धा हुने आयोजक सयपत्री क्लबले जनाएको छ । कुम्मायक गाउँपालिकाको प्रवर्द्धनमा मेलाका अवसरमा सयपत्री क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्