रामप्रकाश समथिङलाई ‘जनसेवाश्री’ पदक 



फिदिम । पाँचथरका समाजसेवी एवं साहित्यकार रामप्रकाश समथिङ ‘जनसेवाश्री’ पदकबाट विभूषित हुनु हुने भएको छ ।

पदक मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति प्रदान हुने गरेको छ । गृह मन्त्रालयले प्रकाशन गरेको सूचनाअनुसार समथिङ उक्त पदकबाट विभूषित हुन लाग्नुभएको हो । आगामी वैशाक १ गते घोषित पदकहरुबाट विभूषित गर्ने कार्यक्रम रहेको मन्त्रालयको सूचनामा उल्लेख छ ।

तीन दशकभन्दा लामो समयदेखि समाजसेवा, लेखन, सङ्कलन तथा प्रकाशनका कार्यमा सक्रिय समथिङका हालसम्म ५३ वटा कृतिहरु बजारमा आइसकेका छन् । समाजका आम पक्षहरुलाई जस्ताको तस्तै कृति र रचनामा उतार्ने समथिङ लेखन क्षेत्रमा सधैँ चर्चामा रहनुभएको छ ।

पछिल्लो दशकमा समथिङ लेखनसँगै सामाजिक सेवामा सक्रिय भएका कारण सबैको स्याबासीको पात्र बन्नुभएको छ । आर्थिक रुपले विपन्न, असक्त र असाहायको सेवामा समथिङले सधैँ अगुवाई गर्दै आउनुभएको छ ।

फिदिम–४ गढीस्थित गढी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई पठन–पाठनमा सहयोगदेखि विपन्न परिवारको घर निर्माण, उपचारमा सहयोग जस्ता कार्यमा समथिङ सक्रिय हुनुहुन्छ । पछिल्ला दिनमा फिदिम र आसपासको क्षेत्रमा सबैको मलामी पुग्ने र सरसहयोगमा जुट्ने कार्यमा सधैँ सक्रिय हुनुहुन्छ ।

हुकोडेक नेपाल सहित विभिन्न संघ संस्थामा नेतृत्वदायी एवं ब्यवस्थापकीय भूमिका निभाउनु भएका समथिङको संरक्षकत्वमा अहिले समथिङ फाउण्डेसन नामको संस्था सक्रिय छ । उक्त संस्थाले सामाजिक क्षेत्रमा कार्य गर्दै आएको छ । समथिङलाई केही वर्षअघि पाँचथरका नागरिक संघ संस्थाले नागरिक अभिनन्दन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्