थर्पुमा निशान कालिकाधाम र याङवरक पोखरी संरक्षण आयोजनाको शिलान्यास



नेत्रप्रसाद कोइराला, थर्पु

पाँचथरको याङवरक गाउँपालिका स्थित निशान कालिकाधाम र याङवरक पोखरी संरक्षण आयोजनाको शिलान्यास भएको छ ।

याङवरक–४ स्थित धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई पर्यटकीय गन्तब्य निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यको शिलान्यास गरिएको हो । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले शुक्रवार आयोजित कार्यक्रममा उक्त आयोजनाको शिलान्यास गर्नुभएको हो ।

संघीय सरकार र याङवरक गाउँपालिकाको लागत साझेदारीमा आयोजना निर्माण हुन लागेको हो । आयोजनाका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको ७० प्रतिशत तथा याङवरक गाउँपालिकाको ३० प्रतिशत लागत ब्यहोरेका छन् । कूल रु. छ करोड ९४ लाख ६१ हजारको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो ।

आयोजनाअन्तर्गत निशान कालिकाधाम र याङवरक पोखरीको विस्तार एवं निर्माणसँगै बाल उद्यान (चिल्ड्रेन पार्क), विश्राम स्थल, धार्मिक तथा साँस्कृतिक महत्वका मूर्तीहरु, माछा पोखरी र धाराहरु, विश्राम तथा सेल्फी खिच्ने ठाउँ, स्थानीय संस्कृति, परम्परा तथा जनजीवन झल्कने मुर्तीहरु, सेल्फी खिच्ने ठाउँ, घण्टीहरु, फूलवारी र पोखरीको दृश्य, नागको मुर्ती, मुख्य प्रवेशद्वार, याङवरक स्तम्भ, हतियारका आकृतिहरु लगायत संरचना निर्माण हुने याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनले जानकारी दिनुभयो ।

आयोजनाको शिलान्यासपछि बोल्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री समेत रहनुभएका भट्टराईले निशान कालिकाधाम तथा याङवरक पोखरी निर्माणपछि नयाँ पर्यटकीय गन्तब्य थपिने वताउनुभयो । उहाँले पर्यटकीय गन्तब्यहरुमा पूर्वाधार विकास गर्दै प्रचार प्रसारमा ध्यान दिन सुझाव दिनुभयो । पर्यटकीय क्षेत्रलाई स्थानीयवासीको आयआर्जनको माध्यम बनाउन सकेमात्रै सरकारी लगानीले उचित प्रतिफल दिने भट्टराईको भनाई छ ।

नेपाल एकीकरणका क्रममा तत्कालीन पल्लोकिराँत लिम्बुवान अन्तर्गतका सुब्बाहरुले प्राप्त गरेका श्रीजङ्गी र श्रीकम्फू निशान प्रदर्शन तथा संरक्षण गर्ने स्थल रहेको निशान कालिका धाम धार्मिक महत्वको क्षेत्र समेत हो । यहाँ रहेको याङवरक पोखरी लिम्बु समुदायको साँस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र हो । याङको अर्थ पैसा र वरकको अर्थ पोखरी हो । भगवान (तागेरा निङ्वाभुमाङ)ले स्नान गरेको विश्वास गरिने यो स्थानमा याङ र वरक झल्कने प्रतिमा विशेष आकर्षणका रुपमा रहने याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङको भनाई छ ।

यहाँ पर्यटकीय पूर्वाधार निर्माणका लागि दुई वर्ष अघि नै गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको कार्य पूरा भएको थियो । वि.सं. २०८१ सालभित्र निर्माण सम्पन्न गर्ने समझदारीसहित निर्माण कार्यको ठेक्का सम्झौता समेत सम्पन्न भइसकेको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले वताउनुभयो । उहाँका अनुसार ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा देवी, तिम्बु पोखरी, मध्यपहाडी लोकमार्गको उद्गमविन्दू चिवाभञ्ज्याङ लगायत क्षेत्र पुग्ने पर्यटकलाई यहाँ आकर्षित गर्ने गाउँपालिकाको योजना छ ।

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला समन्वय समितिका सदस्य नरबहादुर गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अनुगमन अधिकृत प्रविनहाङ योङहाङ, याङवरक ५ का वडाध्यक्ष टेकनाथ न्यौपाने लगायतले आफ्ना धारणा राख्दै आयोजनाको शीघ्र, गुणस्तरीय एवं आकर्षक निर्माणमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्