मर्मत नहुँदा मेची राजमार्गको पाँचथर खण्ड बन्यो कच्चीसरह



पाँचथर । नियमित मर्मत सम्भारको कार्य नहुँदा मेची राजमार्गको पाँचथर खण्ड कच्ची सडकसरह बनेको छ ।

मेची राजमार्गको फिदिम–काबेली खण्डमा चालु आर्थिक वर्ष २०७८/०७९ को साउन महिनाबाट हुनुपर्ने मर्मत सम्भारको काम हुन सकेको छैन् । राँके–फिदिम खण्डमा भने बाढी र पहिरोका कारण भएको क्षतिको पुनर्निर्माण तथा मर्मत भएको छैन् । मर्मत सम्भारको अभावमा राजमार्गको पाँचथर खण्डका सयौँ स्थानमा सडक भत्कनुका साथै ठूल्ठुला खाल्डाखुल्डी परेका छन् । सडक क्षतिग्रस्त बनेपछि सवारी सञ्चालन कठीन बनेको छ ।

पाँचथर खण्डका प्रायःजसो सबै स्थानमा सडक भत्केको छ । जसमध्ये पनि भारपा–अमरपुर खण्ड अत्यधिक भत्केको छ । भारपा, चतुरेबजार, जोरपोखरी, गोपेटार, सुनुवार गोलाई, गणेशचोक लगायत क्षेत्रमा सडकको कालोपत्रे उप्केको एक वर्षभन्दा लामो समय भइसकेको छ । नियमित मर्मत नभएपछि कालोपत्रे उप्केका ठाउँमा ठूल्ठुला खाल्डा पर्नुका साथै नियमित पानी जम्न थालेको छ ।

सडक क्षतिग्रस्त हुँदा सवारी सञ्चालन गर्न कठिन पर्न थालेको जिल्लाको याङवरक गाउँपालिका–४ थर्पूका राममोहन कार्की वताउनुहुन्छ । “एक वर्षदेखि नियमित मर्मत नहुँदा धेरै ठाउँमा सडक कच्चीजस्तै बनेको छ”, कार्कीले भन्नुभयो, “पहिले थर्पूबाट ६ घण्टामा विर्तामोड पुगिन्थ्यो, अहिले ८–९ घण्टा लाग्छ ।” गत वर्षायामदेखि यो खण्ड क्षतिग्रस्त बनेपनि सरकारी निकायले मर्मत सम्भारको कार्यमा चासो नदिएको कार्कीको गुनासो छ ।

जिल्लाको हिलिहाङ–६ जोरपोखरीका हरिराज लोवाका अनुसार विगतका वर्षहरुको तुलनामा यस वर्ष अधिक धेरै वर्षा हुँदा सडक यत्रतत्र भत्किएको हो । भत्किएको सडकमाथि नै धेरै वजन भएका ढुवानीका साधन गुड्दा सडक झनै क्षतिग्रस्त बनेको उहाँको भनाई छ ।

विशेषतः पूर्वाधारका ठूला आयोजना र जलविद्युत आयोजनाका लागि सामान ढुवानीका क्रममा धेरै वजन भएका ट्रक र ट्रिपर गुड्दा सडक भत्किएर ठूला खाल्डाखुल्डी परेको लोवा सुनाउनुहुन्छ । “भत्किएको सडक समयमा मर्मत नभएपछि सवारी चलाउनै कठीन पर्न थालेको छ”, यवाले भन्नुभयो, “भत्किएको ठाउँमा कसैले मर्मत गरेका छैनन् । सामान्य कालोपत्रे उप्केको टाल्ने काम चाहिँ हुन्छ ।”

सवारी चालक रोषन प्याकुरेलका भत्किएको सडक मर्मत नहुँदा पानी पर्दा हिलो हुने र घाम लागे धुलो उड्ने अवस्था आएको छ । कालोपत्रे सडक कच्चीसरहको बनेका कारण सवारी दुर्घटना समेत बढेको छ । “बाटो सहज होला भन्ने ठानेर कच्ची सडकमा सवारी चलाउन नसक्नेहरु समेत यात्रामा हुन्छन्”, प्याकुरेलले भन्नुभयो, “बाटो अप्ठ्यारो भएकै कारण धेरै वटा दुर्घटना भइसके । सवारीका साधनमा उस्तै क्षति भइरहेको छ ।”

मेची राजमार्गको मर्मत सम्भारको क्षेत्राधिकार सडक डिभिजन कार्यालय इलामको हो । डिभिजन कार्यालयका प्रमुख डिभिजन इन्जिनियर विदुर पोखरेलका अनुसार ठेक्का पाएका निर्माण ब्यवसायीले समयमा काम नगर्दा समस्या आएको हो । “पाँचथर खण्डको मर्मतका लागि गत आ.व.मै ठेक्का लागेको रहेछ”, डिभिजन इन्जिनियर पोखरेलले भन्नुभयो, “म आएपछि नियमित फलोअप गरिरहेको छु । निर्माण ब्यवसायीले चिसोको कारण काम गर्न नसकेको भनेका छन् ।”

गत आ.व.मा लागेको ठेक्काअनुसार आगामी चैत मसान्तभित्र पाँचथर खण्ड मर्मतको काम सक्नुपर्ने पर्नेछ । “छिटो काम सुरु गर्न ताकेता गरिरहेको छु । समयमा काम सम्पन्न नभए कारबाहीमा जाने मैले स्पष्ट पारिसकेको छु”, पोखरेलले भन्नुभयो । आफू एक महिनाअघि इलाम डिभिजनमा सरुवा भई आएको र अवलोकनका क्रममा मेची राजमार्गको पाँचथर खण्ड अत्यधिक भत्किएको पाएको उहाँले वताउनुभयो । “मैले पनि भत्किएको सडक हेरेर चाँडो काम थाल्न निर्देशन दिएको छु”, पोखरेलले भन्नुभयो ।

साविक मेची अञ्चलका चार वटा जिल्ला जोड्ने मेची राजमार्गमा सवारीको चाप वर्षेनि बढ्दो छ । विशेषतः ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीको दर्शन गर्ने श्रद्धालुको सङ्ख्या बढ्दै गएपछि यहाँ सवारीको चाप थामिनसक्नु भएको छ । फागुन, चैत, वैशाक, जेठ, भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा दैनिक सयौंको सङ्ख्यामा सवारीका साधन यस राजमार्गमा सञ्चालनमा आउने गरेका छन् । भार बहन क्षमताभन्दा बढी सवारी सञ्चालन हुनु, नियमित मर्मत सम्भार र संरक्षण नहुनु तथा वर्षाका कारण बाढी र पहिरोले क्षति पु¥याउँदा मेची राजमार्गको पाँचथर खण्ड अस्तब्यस्त बनेको हो ।

अघिल्लो सरकारले विस्तार र मर्मतको प्राथमिकतामा राखेको मेची राजमार्गको सुधारमा वर्तमान सरकारले उचित ध्यान नदिँदा गत वेमौसमी वर्षाका कारण भत्किएको सडक पुनर्निर्माण समेत हुन सकेको छैन् । अघिल्लो सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सवारीको चाप हुने यस सडकका मुख्य खण्डहरुको विस्तारका लागि बजेट ब्यवस्थापनको सुरुआत गर्नुभएको थियो ।

चालु आ.व.मा मात्रै सडक डिभिजन इलाममा तीन जना कार्यालय प्रमुख परिवर्तन भइसकेका छन् । फिल्ड हेर्न नपाउँदै कार्यालय प्रमुख सरुवा हुने तथा पर्याप्त बजेट समेत नछुट्टिने भएपछि मेची राजमार्ग दिनानुदिन जीर्ण बन्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्