नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो



काठमाण्डौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड १९ प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बुधबार थपिएको ८ हजार ४५४ सहित सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको जानकारी दिनुभएको हो ।

सक्रिय संक्रमितमध्ये ८८ हजार २४८ जना घरमै (होम आइसोलेसन)मा स्वास्थ्यलाभ गरिरहेको र १ हजार ८१९ जना संस्थागत आइसोलेसनमा रहेको उहाँले वताउनुभयो । डा. पौडेलका अनुसार २५१ जना सघन उपाचार कक्ष (आइसीयू) मा र ४८ जना भेन्टिलेटरमा उपचाररत छन् । संस्थागत क्वारेन्टाइनमा १ सय ७१ जना रहेका छन् ।

निर्देशक पौडेलले पहिलो र दोस्रो लहरको तुलनामा आईसीयू र भेन्टिलेटर कम प्रयोग गर्नु परे पनि संक्रमण दर बढी रहेको बताउनुभयो । हाल परीक्षणको आधारमा ४० प्रतिशतभन्दा बढी संक्रमित दर रहेको छ ।

संक्रमण फैलिरहेकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरी आफू र अरुलाई संक्रमणबाट जोगाउन समेत डा. पौडेलले आग्रह गर्नुभयो । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४५४ संक्रमित थपिएका छन् भने ४ हजार ४३३ निको भएका छन् । २४ घण्टामा ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्