विद्यालय सञ्चालनमा दोहोरीः डीसीएमसीको बन्द गर्ने निर्णय, गाउँपालिकाको सुचारु गर्ने पत्र



पाँचथर । पाँचथरमा एकै मितिमा जिल्ला कोभिड–१९ ब्यवस्थापन केन्द्र (डीसीएमसी) र एक स्थानीय तहले विद्यालय सञ्चालनका फरक–फरक निर्देशन दिएको पाइएको छ ।

कोभिड–१९ सङ्क्रमण बढिरहँदा डीसीएमसीले गत पुस २७ गते आधारभूत तथा माध्यमिक विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो । तर पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सोही दिन मातहतका निकायलाई पत्राचार गर्दै विद्यालय नियमित सञ्चालन गर्न भनेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २६ गते कोभिड–१९ को तेश्रो लहरको सङ्क्रमणबाट बालबालिकालाई बचाउन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रालयको उक्त सूचनाका आधारमा पुस २७ गते बसेको डीसीएमसीको बैठकले मासिक विदामा मिलान हुने गरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने र विदाको अवधिमा शिकाई सहजीकरण निर्देशिकाअनुसार शिकाईमा सहजीकरण गर्ने निर्णय गरेको थियो ।

डीसीएमसीको निर्णय नं. ३ मा रहेको उक्त विषय सोही दिन प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेद्वारा जारी सूचनाको वुँदा नं. ८ मा समेत उल्लेख छ । यता मिक्लाजुङ गाउँपालिकाले भने पुस २७ गते नै गाउँपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई पत्र लेख्दै विद्यालय नियमित सञ्चालन गर्न गराउन भनेको छ ।

गाउँपालिकाका आठै वटा वडाका वडाध्यक्षहरु तथा सबै विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुलाई बोदार्थ राखिएको उक्त पत्रमा मिक्लाजुङ गाउँपालिकामा हालसम्म कोभिड–१९ सङ्क्रमण नदेखिएको तथा गाउँपालिकाका विद्यालयहरुमा शिकाई सहजीकरण निर्देशिका पूर्ण रुपमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी विद्यालय नियमित सञ्चालन गर्न अध्यक्ष अमरराज माखिमले पत्राचार गर्नुभएको पाइएको छ ।

प्रशासनिक निकाय र स्थानीय तहवीच विद्यालय सञ्चालनबारे धारणा बाझिँदा शिक्षक, विद्यार्थी र अभिभावकहरु भने अन्यौलमा परेका छन् । निर्देशनपछि जिल्लाका केही स्थानीय तहमा भने पठनपाठन बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्