पाँचथरमा भूमि आयोगका अध्यक्षद्वारा पद बहाली



पाँचथर, ९ माघ

राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाँचथरका अध्यक्ष दिनेश लावतीले आज पद बहाली गर्नुभएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा लावतीले पद बहाल गर्नुभएको हो । कार्यक्रममा नवनियुक्त अध्यक्ष लावतीलाई प्रदेश नं. १ को उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबे, जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला स्थित राजनीतिक दल तथा सरकारी निकायका प्रमुख लगायतले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सभापतिले थेबेले भूमिहीनका समस्या समाधानमा आयोगलाई सबै पक्षबाट सहयोग हुनु आवश्यक रहेको वताउनुभयो । विगतमा गठित भूमिसम्बन्धी समाधान आयोगले समस्या समाधानमा गरेका प्रयासहरु तथा कठिनाईहरुबाट पाठ सिकेर काम गर्न थेबेले सुझाव दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सापकोटाले वर्तमान सरकार गठनपछि विगठित भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका भूमिहीनलाई जग्गा दिलाउन छोटो समयमा उल्लेख्य प्रयास गरेको वताउँदै विगतमा सम्पादित कामको स्वामित्व ग्रहण गरी अगाडि बढ्न सुझाव दिनुभयो । नवनियुक्त अध्यक्ष लावतीले विगतको आयोगले गरेका कामलाई समेत समेट्दै वर्तमान आयोग अगाडि बढ्ने वताउनुभयो ।

राष्ट्रिय भूम आयोग गठन आदेश २०७८ अनुसार उक्त समितिमा जिल्ला समन्वय अधिकारी, जिल्ला मालपोत कार्यालयका प्रमुख, डिभिजन वन अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत र नेपाल सरकारले नियुक्त गरेका दुई जना विज्ञ सदस्यहरु सदस्य तथा नापी कार्यालय प्रमुख सदस्य सचिव रहने ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्