खोरमा थुनिएकी चिलिङ्दिनकी युवतीको उद्धार



पाँचथर । मानसिक समस्या भई समयमै उपचार नपाउँदा खोरमा थुनिएकी पाँचथरको फाल्गुनन्द गाँउपालिका–४ चिलिङ्दिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङलाई आइतवार राष्ट्रिय महिला आयोगले उद्धार गरेको छ ।

कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेपछि परिवारले नेम्वाङलाई खोरमा थुनेर राखेका थिए । उक्त समाचार सार्वजनिक भएपछि राष्ट्रिय महिला आयोगले नेम्वाङको उपचार तथा पुनःस्थापनाका लागि आइतवार उद्धार गरेको हो । आयोगको चासो र पहलपछि जिल्ला प्रशासन कार्यालय पाँचथर र फाल्गुनन्द गाँउपालिकाले नेम्वाङलाई उद्धार गरी उपचारका लागि काठमाण्डौं पठाएका हुन् । पत्रकार लक्ष्मी गौतमले समाचारमार्फत नेम्वाङको अवस्था सावर्जनिक गर्नुभएको थियो ।

राष्ट्रिय महिला आयोगले जिल्ला प्रशासन कार्यालय र फाल्गुनन्द गाँउपालिकालाई पत्र लेख्दै उद्धार गरी काठमाण्डौं पठाउन भनेपछि आइतवार उद्धार गरी एम्बुलेन्समार्फत काठमाण्डौं पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । नेम्वाङको हेरचाहमा खटिएकी उनकी आमा पृथ्वीमायाको पनि स्वास्थ्य अवस्था कमजोर भएको र उपचारमा समस्या भएकाप्रति आयोगको ध्यानाकर्षण भएको आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले वताउनुभयो । नेम्वाङको उपचारमा लाग्ने सबै खर्च ब्यहोर्दै निको भएपश्चात परिवारमा पुनःस्थापना गर्ने जिम्मेवारी आयोगले लिएको खतिवडाले जानकारी दिनुभयो ।

नेम्वाङलाई आगामी तीन महिना कोशिष नेपालमा राखेर उपचार हुने र त्यसपश्चात आवश्यकताअनुसार अन्य अस्पतालमा रेफर हुने आयोगले जनाएको छ । नेम्वाङलाई उद्धार गर्न प्रमुख जिल्ला अधिकारी न्यौपानेसहित फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष देबित्राकुमारी आङदेम्बे, प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, फाल्गुनन्द–४ का वडाध्यक्ष मनबहादुर चेम्जोङ लगायत उनको घर पुगेका थिए । नेम्वाङलाई काठमाण्डौंसम्म लैजाँदा लाग्ने यातायात सहितका सबैखाले खर्च फाल्गुनन्द गाउँपालिकाले ब्यहोरेको प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्