७ दिन आइसोलेसनमा बसेपछि पुनः परीक्षण गर्नु नपर्ने



फिदिम । सरकारले कोरोना संक्रमित व्यक्ति ७ दिन आइसोलेसनमा बसेमा पुनः परीक्षण गर्न नपर्ने बताएको छ । तर त्यसका लागि लगातार तीन दिन लक्षण नदेखिएको हुनुपर्नेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले ७ दिनपछि संक्रमण सर्ने जोखिम न्यून भएका कारण पुनः परीक्षण गर्न नपर्ने बताउनुभयो । “अन्य देशका अनुसन्धानले होम आइसोलेसन बसेको ७ दिनपछि परीक्षण गर्न नपर्ने देखाएको छ”, डा. पौडेलले भन्नुभयो, “लक्षणविहीन भएको अवस्थामा ७ दिनपछि पुनः परीक्षण गर्न पर्दैन ।”

संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूका लागि पाँच दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ । पाँच दिन अगाडि नै परीक्षण गर्दा खासै नतिजा नदिने भएकाले सरकारले पाँच दिनपछि मात्रै परीक्षण गर्न सुझाव दिएको हो ।

पाँच दिनपछि परीक्षण गर्दा पोजेटिभ देखिएमा पुनः सात दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ । डा. पौडेलका अनुसार अस्पतालबाट डिस्चार्ज भएपश्चात तीन दिनपछि घरमा आइसोलेसनमा बसेर बाहिर निस्कन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्