समृद्धिको अभियानलाई सञ्चार जगतले अगुवाई गर्नुपर्छः पूर्वमन्त्री नेम्वाङ



पाँचथर, २९ पुस

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले अबका दिनमा समृद्धिको अभियानलाई अगुवाई सञ्चार जगतले गर्नुपर्ने वताउनुभएको छ ।

मुलुक राजनीतिक आन्दोलनको चरणबाट विकास, निर्माण र समृद्धिको चरणतर्फ लम्केको र सञ्चार क्षेत्र समेत आधुनिकतातर्फ उन्मुख हुँदै गएकाले समृद्ध मुलुक निर्माण गर्ने अभियानमा सञ्चार क्षेत्रले आफ्नो जिम्मेवारीमा रहँदै अगुवाको भूमिका खेल्नुपर्ने नेम्वाङको भनाई छ । बुधवार फिदिममा आयोजित प्रेस चौतारी नेपाल, पाँचथर शाखाको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं पाँचथर जिल्लाका इन्चार्ज समेत रहनुभएका नेम्वाङले सञ्चार जगत सक्षम बन्न समेत समृद्ध समाज र राष्ट्र नै अपरिहा¥य हुनाले यो अभियानको अगुवाई सञ्चार जगतले गर्नुपर्ने वताउनुभयो ।

“प्रेस स्वतन्त्रता र हकका लागि धेरै कानूनी प्रवन्ध र कार्यान्वयन समेत हुन थालेपछि लडाईंको समयको सकियो”, नेम्वाङले भन्नुभयो, “समृद्ध नेपाल निर्माणको अगुवाई राजनीतिक क्षेत्रबाट भएपनि त्यसको आवश्यकतालाई बोध गरी सञ्चार क्षेत्रले अगुवाको काम गर्नुपर्छ ।” नयाँ संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरी संविधान कार्यान्वयनका क्रममा सञ्चार क्षेत्रका आवश्यकताहरुलाई परिपूर्ति गर्न थालिएपछि ‘अधिकारको आन्दोलन’ समाप्त भएको नेम्वाङको भनाई छ ।

सञ्चारकर्मीको पेशागत दक्षता अभिवृद्धि गर्दै समायनुकूल जिम्मेवारी पूरा गर्न सक्षम बनाउनुपर्ने आवश्यकता रहेको नेम्वाङको भनाई छ । प्रविधि र समयानुकूल शीपको विकास गर्दै कानूनी तथा आचारसंहितामा पत्रकारहरुलाई जानकार र पोख्त बनाउन प्रेस चौतारी, पत्रकार महासंघ सहितका निकायले काम गर्नुपर्नेमा उहाँको जोड छ । विगतमा केही समय सञ्चार तथा सूचना प्रविधि मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका नेम्वाङले विगतको सरकारले पत्रकारहरुको हित हुने धेरै काम थालेको स्मरण गर्नुभयो ।

विगतको सरकारले क्लिन फिड लागू गरी विज्ञापन बजारमा नेपाली सञ्चार माध्यमलाई हित हुने काम गरेको, पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरी कडाईका साथ लागू गराएको, आम सञ्चार प्रतिष्ठान गठनको अवधारणा ल्याएको, लोककल्याणकारी विज्ञापनको बजेट वृद्धि गरी त्यस्तो विज्ञापन सबै प्रकारका सञ्चार माध्यमले पाउने कानूनी प्रवन्ध गरेको, सञ्चार माध्यममा देखिएका समस्या समाधानका लागि मिडिया काउन्सिल विधेयक अगाडि बढाई पत्रकारिता र सञ्चार क्षेत्रको हितमा महत्वपूर्ण कामको थालनी गरेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहनुभएका संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले नेपालको संविधान २०७२ मा मौलिक हकको ब्यवस्था गर्ने क्रममा पूर्ण प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका लागि आफूले गरेको प्रयासको स्मरण गर्नुभयो । “म आफैं मौलिक हक तथा राज्यको निर्देशक सिद्धान्त मस्यौदा उपसमितिको संयोजक भएपनि प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको हकलाई वृहत बनाउन उपसमितिका सदस्यहरुसँग फरक धारणा राखेँ”, नेम्वाङले भन्नुभयो, “संविधानको प्रस्तावना र मौलिक हकबाटै प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरी ब्यवसायिक पत्रकारिताको सम्वद्र्धनको वातावरण बनाइएको छ ।”

कार्यक्रममा नेकपा (एमाले) पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले वैचारिक आस्थाका आधारमा पत्रकारहरु विभक्त हुनु स्वभाविक भएपनि पत्रकारिता र सञ्चार क्षेत्रका विषयमा सधैँ एकाकार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आस्थाको प्रभाव समाचारमा देखिन नहुनेमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यद्वय सन्दीप राई र युधिष्ठिरराज आमगाई तथा प्रेस चौतारी पाँचथरका संस्थापक अध्यक्ष प्रेम ओझाले विगतमा प्रेस चौतारी नेपालले खेलेको भूमिका, ब्यवसायिक पत्रकारिताको सम्वद्र्धनमा गरेका प्रयास तथा पछिल्ला दिनमा प्रेस चौतारीलाई एक्ल्याउन भएका गठबन्धनका विषयमा चर्चा गर्नुभएको थियो । उहाँहरुले प्रेस चौतारीलाई पाखा लगाउन खोज्दा पत्रकार महासंघले असफल भएको वताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले मुलुकको राजनीतिक परिस्थितिले सञ्चार संगठनहरुको सहकार्यमा बाधा आउने गरेको भएपनि सञ्चार क्षेत्रका मुद्दामा संगठनहरु सधैँ एकै ठाउँ हुने वताउनुभयो । यसका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्ने उहाँले वताउनुभयो ।

उक्त कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन पाँचथरका अध्यक्ष प्रकाश अधिकारी, नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष जीतेन्द्र भण्डारी, केञ्जोखवर डटकमका सम्पादक सरला रेग्मी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । देशब्यापी रुपमा अधिवेशन गरिरहेको प्रेस चौतारीले जिल्लामा समेत छैटौं अधिवेशन आयोजना गरेको हो । प्रेस चौतारीका अध्यक्ष तुलसी क्षितिजको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा प्रेस चौतारी पाँचथरका उपाध्यक्ष सहमान विश्वकर्माले स्वागत मन्तब्य राख्नुभएको थियो भने सचिव शान्तीदेवी राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्