प्रेस चौतारी पाँचथरमा नयाँ नेतृत्व



पाँचथर, २९ पुस

प्रगतिशील पत्रकारहरुको अगुवा संगठन प्रेस चौतारी नेपाल, जिल्ला शाखा पाँचथरको छैटौं अधिवेशन बुधवार फिदिममा सम्पन्न भएको छ ।

अधिवेशनले रवीन्द्र काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको निर्वाचित गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा विपुल अधिकारी र दुर्गा खनाल, सचिवमा भावना लिङदेन, सहसचिवमा चिरञ्जिवी विश्वकर्मा र जीवन गौतम तथा कोषाध्यक्षमा इवारा जबेगू चयन भएका छन् । यस्तै कार्यसमितिका सदस्यहरुमा नेत्रप्रसाद कोइराला, रमेश थापा, मदन थापा, रजनी हाङसरुम्बा र मौसम सम्बाहाम्फे छन् । बाँकी एक सदस्य नयाँ कार्यसमितिले मनोनित गर्ने प्रेस चौतारी पाँचथरले जनाएको छ ।

यस्तै प्रेस चौतारीले प्रदेश प्रतिनिधिमा सागर खनाल, रमेश थापा र दिलकुमारी तामाङ तथा केन्द्रीय प्रतिनिधिमा तुलसी क्षितिज, शान्तीदेवी राई र विपुल अधिकारीलाई चयन गरेको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस चौतारी पाँचथरको छैटौं अधिवेशनअन्तर्गत बन्द सत्रको अध्यक्ष मण्डलका अध्यक्ष एवं प्रेस चौतारी पाँचथरका संस्थापक सदस्य कृष्ण ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको प्रेस चौतारी पाँचथरका निवर्तमान अध्यक्ष तुलसी क्षितिजले जानकारी दिनुभयो ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला इन्चार्ज वसन्तकुमार नेम्वाङको प्रमुख आतिथ्यतामा आयोजित प्रेस चौतारी पाँचथरको छैटौं अधिवेशनको उद्घाटन कार्यक्रममा एमालेका अर्का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, प्रेस चौतारीका केन्द्रीय सदस्यद्वय सन्दीप राई र युधिष्ठिरराज आमगाई, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटा, पूर्वसभापतिद्वय प्रेम ओझा र कृष्ण ओझा सहित सञ्चार संगठनहरु, एमालेका अन्य भातृ संगठनहरु, जिल्ला स्थित सञ्चार गृह तथा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु समेतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्