एमाले पाँचथरद्वारा बरभञ्ज्याङका आगलागी पीडितलाई राहत सहयोग



फिदिम, २९ पुस

आगलागीमा घरबार र जायजेथा गुमाएका पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङका आगलागी पीडित परिवारहरुलाई नेकपा (एमाले) पाँचथरले सहयोग गरेको छ ।

आगलागीबाट भएको क्षतिको आज स्थलगत अवलोकन गर्दै जनप्रतिनिधि तथा एमालेका नेताहरु राहत सहयोग वितरण गर्नुभएको हो । गत पुस २१ गते राती भएको आगलागीमा घरबार, ब्यवसाय लगायत जायजेथा गुमाएका स्थानीयवासीहरुलाई एमाले जिल्ला कमिटीले नगद र जिन्सी गरी रु. १ लाख ५६ हजार मूल्य बराबरको सहयोग उपलब्ध गराएको हो ।

आगलागीमा जायजेथा गुमाएका बरभञ्ज्याङका आठ परिवारलाई नगद र जिन्सी सामग्री गरी उक्त राहत उपलब्ध गराइएको हो । नगद सहित दुई परिवारलाई सिलाई मेसिन उपलब्ध गराइएको हो । पूर्वमन्त्री एवं एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहनुभएका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ सहितको टोलीले आगलागीबाट भएको क्षतिको अवलोकन गरी पीडित परिवार, स्थानीय जनप्रतिनिधिहरु तथा स्थानीयवासीहरुसँग भेटघाट गरेको हो ।

उक्त टोलीमा प्रदेशसभा सदस्य एवं एमाले प्रदेश नं. १ प्रदेश कमिटीका सदस्य आशारत्न जबेगू, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, उपाध्यक्ष धनकुमार फियाक, सचिव एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा (विमल), उपसचिव पृथ्वी लावती, जिल्ला कमिटीका सदस्यहरु तुलसी थापा, विलास योङ्या र रामकुमार राई, एमाले जिल्ला कमिटी सदस्य एवं फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवा, फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान लगायत कर्मचारीहरु, एमाले फिदिम नगरका सचिव दीपेन्द्र तुम्बापो, एमाले फालेलुङका सचिव पुष्प तिम्सिना, नेत्री तारावती राई समाजसेवीहरु रामप्रकाश समथिङ, नरेश आङ्बो, सुनिल वान्तवा लगायत सहभागी हुनुहुन्थ्यो ।

पीडित परिवार, स्थानीय जनप्रतिनिधिहरु तथा स्थानीयवासीहरुसँग भेट गर्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य नेम्वाङले आगलागीमा नष्ठ भएका घरहरुको पुनर्निर्माण तथा ब्यवसाय गुमाएका परिवारको जिविकोपार्जनको प्रवन्धका लागि आफूले संघीय सरकारको ध्यानाकर्षण गराई शीघ्र पुनर्स्थापनाको ब्यवस्था गर्न माग गर्ने वताउनुभयो । यस्तै प्रदेशसभा सदस्य जबेगूले प्रदेश सरकारलाई पीडित परिवारहरुलाई तत्कालै सहयोग र पुनर्स्थापनाको प्रवन्ध मिलाउन आफूले पहल गर्ने वताउनुभयो ।

विद्युत सर्ट भई आगलागी हुँदा बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा, रामजीत राई र मनबहादुर राईका घर तथा ती घरमा रहेका छ वटा पसल जलेका थिए । उक्त आगलागीमा रु. एक करोड ९० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्क छ । आगलागी पीडितहरुलाई देश तथा विदेशबाट विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले समेत सहयोग उपलब्ध गराइरहेको फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्